​बियरले प्रायोजन गरेको मेलामै बियर खान प्रतिबन्ध

Newslaya Home

​बियरले प्रायोजन गरेको मेलामै बियर खान प्रतिबन्ध

बिहीबार २४, माघ २०७५

इटहरी । इटहरीमा बिहिबारदेखि खाद्य मेला सुरु भयो । मेलाको प्रायोजकमा बियर र वाइन छन् । तर मेलामा भने बियरसमेत खान प्रतिबन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध इटहरीको कुनै मेलामा लागेको यो दोस्रो घटना हो । 

यसअघि एरिना टेलिभिजनले आयोजना गरेको मेलामासमेत मदिरा प्रतिबन्ध लागेको थियो । आयोजक संस्थाका सञ्चालक समिर कार्कीका अनुसार बिक्रि गर्ने व्यक्ति नै पक्राउ परेका थिए ।

यस पटक पनि मदिरा बिक्रि वितरणमाथि पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक कार्यक्रमहरुमा मादक पदार्थ बेच्न प्रतिबन्ध गरेको हो । सरकारको नयाँ नीतिअनुसार प्रतिबन्ध गरिएको बताइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले सोही सहमतीमा अनुमति दिइएको जानकारी दिए । यसको नियमन आयोजकले नै गर्नुपर्ने कार्यालयको जिकिर छ ।

यता इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिवकुमार श्रेष्ठले मादक पदार्थ खरिद बिक्री नगर्ने उल्लेख रहेका कारण त्यस्तो भेटिए स्टल सञ्चालक र आयोजकलाई कारबाही गर्ने बताए ।

कसको इन्टरेस्ट हो, थाहा छैन : आयोजक
यता मेला आयोजक होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले भने यस्तो प्रतिबन्धप्रति आश्चर्य प्रकट गरेका छन् । ‘कसको के इन्ट्रेस्ट हो, थाहा छैन,’ उनले भने, ‘पहिलो पटक मेलामा यसरी प्रतिबन्ध लगाइएको छ ।’

उनका अनुसार पछिल्लो पटक भेडेटार, नाम्चेमा गरिएका मेलामा खुल्लमखुल्ला मदिराको प्रयोग तथा कारोबार भएको थियो । 

उनले होटल र महोत्सव भन्ने बित्तिकै मादक पदार्थलाई वेवास्ता गर्न नमिल्ने भएपनि मेलामा बियरसम्म बेच्ने अनुमती नपाउनु दुःखद् भएको बताए । उनले मदिराका अन्य बियरहरुको इन्ट्रेस्ट हुन सक्ने बताए । ‘शेर्पा बियर र डिभाईन वाईनले प्रायोजन गरेको छ,’ उनले भने, ‘मेला मै चाहिँ प्रयोग गर्न प्रतिबन्ध लगाइदिएको छ ।’