​सप्तरीमा कालाजारका बिरामी भेटिए

Newslaya Home

​सप्तरीमा कालाजारका बिरामी भेटिए

मङ्गलबार २२, माघ २०७५

राजविराज । सप्तरीमा कालाजारका एक जना बिरामी भेटिएका छन् । छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदालाई कालाजार भएको राजविराजस्थित सरगमाथा अञ्चल अस्पतालले जनाएको छ ।

सदा सोमबार उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। आवश्यक जाँच गर्दा उनमा कालाजार भेटिएको अस्पतालले जानकारी दिएको छ । उनलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

५ वर्षको उमेरमै मधुरामलाई कालाजार लागेको आमा गेनादेवी सदाले बताएकी छन् । यसअघि सगरमाथा अञ्चल अस्पतालमै उपचार गराएपछि रोग निको भएको उनले बताइन् । तर, ३÷४ वर्ष अघिदेखि रोग बढ्दै गएको र शरीरका अधिकांश भागमा गिर्खा देखिन थालेपछि उपचारका लागि अस्पताल आएको मधुरामले बताएका छन् । 

२०१६ मा पनि सप्तरीमा एक महिलासहित २ जनामा कालाजारको संक्रमण देखिएको थियो। तराईमा पाइने ‘स्यान्ड फ्लाई’ नामको भुसुनाको टोकाईबाट कालाजार संक्रमण हुने गर्छ । 

सरकारले सन् २०२० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य लिएको छ।