​फेसबुकमा २५ करोड नक्कली खाता !

Newslaya Home

​फेसबुकमा २५ करोड नक्कली खाता !

मङ्गलबार २२, माघ २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा २ अर्ब ३२ करोड अकाउन्टमध्ये झण्डै २५ करोडभन्दा धेरै नक्कली खाता भएको पाइएको छ ।

फेसबुकले सन् २०१८ को आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार सो वर्षको चौथो त्रैमासिक अर्थात् अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा फेसबुकका मासिक एक्टिभ युजर्समध्ये ११ प्रतिशतको फेसबुक अकाउन्ट फेक अर्थात् डुप्लिकेट भएको पाइएको छ ।

सन् २०१५ मा यस्ता फेक अकाउन्टको संख्या ५ प्रतिशत थियो ।

सन् २०१५ को डिसेम्बरमा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १.५९ अर्ब थियो । सन् २०१८ को डिसेम्बरमा यो संख्या बढेर २ अर्ब ३२ करोड पुगेको हो । तर, तीमध्ये २५ करोड नक्कली खाताधारी रहेका छन् ।

कुनै पनि फेसबुक प्रयोगकर्ताले आफ्नो एउटा प्रमुख फेसबुक अकाउन्ट बाहेक खोलेका अन्य फेसबुक अकाउन्टलाई डुप्लिकेट अकाउन्ट, नक्कली खाता वा फेक अकाउन्ट भनिन्छ । 

फेसबुकको आन्तरिक समीक्षाबाट नक्कली खाताको पहिचान गरिन्छ । फेसबुकका अनुसार विश्वमा अहिले फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको औषत संख्या १ अर्ब ५२ करोड पुगेको छ । त्यो संख्या सन् २०१७ मा १ अर्ब ४० करोड रहेको थियो ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा वृद्धि गर्नमा भारत, इण्डोनेसिया तथा फिलिपिन्सजस्ता देशको महत्वपूर्ण योगदान रहेको छ ।