​‘नृत्य’ (कविता)

Newslaya Home

​‘नृत्य’ (कविता)

मङ्गलबार २२, माघ २०७५

भोगाईले परिभाषित छ जीवन,
अर्थात् जीवन नृत्य पनि रहेछ,
कोही कलात्मक र मनमोहक नाच्छन्,
कोही नाचको रित पुर्याउछन् त 
कोही जाने अनुसार प्रदर्शित हुन्छन्।

सोरठी,कत्थक लगायत असंख्य नृत्य
नामांकृत छन्,
देश अनुसारको, भेष अनुसारको,
परिवेश अनुसारको,
अन्य विविध तौरका नृत्य
देखिन्छन्, सुनिन्छन्।।

नृत्यमा थिरकने हाम्रा कमरहरु,
यसमा उफ्रने पैताला र गोडाहरु,
सबैका  उस्तै छन्,
तर,
चालढाल र नृत्य पृथक देखिन्छन्
पृथक हुनुमा शायद 
साधनाको कमाल होला...

भूमि त्यही हुन्छ,स्थान त्यही हुन्छ
तर हिॅजोका नर्तक आज हुन्नन्,
अनि आजका भोली हुन्नन्,
क्षण–क्षणमा नर्तक फेरिन्छन्,
बदलिरहने समयले सबै आफूजस्तै पार्छ,
कोही मनले नाच्छन्
कोही तनले नाच्छन्,
थोरै नाच्छन् अनि धेरै नचाइन्छन,
नाच्नु ,नचाउनु जीवनको खण्ड
पनि हो,
जिजीविषाको न्यून आधार पनि हो....

नाच्दा नचाउॅदा जे सुकै बदलिएपनि
‘श्वाश’ बदलिदैंन, उत्सर्गगर्नेहरुको
अवधि बदलिएला,
‘आत्मा’ बदलिदैन, बासस्थान बदलिएला,
अर्थात यी दुवैको नृत्य बदलिएला ,
चालढाल बदलिएला । ।