​विराटनगरमा मजदुर चढेको पोलमा विद्युत प्रवाह हुँदा तीन जना घाईते

Newslaya Home

​विराटनगरमा मजदुर चढेको पोलमा विद्युत प्रवाह हुँदा तीन जना घाईते

सोमबार २१, माघ २०७५

विराटनगर । विराटनगरमा बिजुलीको पोलबाट झरेर तीन जना मजदुर घाइते भएका छन् । 

विराटनगरमा जारी विकास निर्माणको क्रममा पोल सार्ने र बिजुलीको तार भुुण्ड्याउने क्रममा करेन्ट प्रवाह हुँदा ती मजदुर करेन्ट लागेर पोलबाट झरेका हुन् । 

बिजुली अफिसचोकमा रहेको ट्रान्सफर भएको पोलमा चढेका मजदुरलाई करेन्ट लागेको हो । पोलबाट झरेर घाइते हुनेमा मोरङको बुढीगंगा गांउपालिका–४ का ३५ बर्षीय रहिम मियां, सोहि ठाउँका २२ बर्षीय संजित पासवान तथा २० बर्षीय मुकेश पासवान रहेका छन् । 

घाइते तीनै जनाको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये रहिम मियांको अवस्था चिन्ताजनक रहेको छ । काम गर्दै गरेको ११ हजार भोल्टको तारमा करेन्ट प्रवाह हुँदा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

करेन्ट प्रवाह हुँदा विभिन्न तीनवटा पोलमा चढेका चार जना पोलबाट झरेको जनाइएको छ । मजदुरलाई काममा लगाउने ठेकेदार माधव पोखरेलले बिजुली काटेर काममा लगाइएको पोलमा करेन्ट प्रवाह हुंदा घटना भएको दाबी गरे । 

उता विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख राजिव सिंहले लाइन सुचारु रहेको पोलमा मजदुर चढेका कारण घटना भएको दाबी गरे । उनले आफुहरुलाई भृकुटी फिडरमा लाइन काट्न भनिएकोले सोहि अनुसार लाइन काटिएको तर मजदुर भने विराटनगर फिडरको करेन्ट प्रवाह भएको पोलमा चढेको दाबी गरे । 

यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले विद्युत पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर तीन जना मजदुर घाइते भएको जानकारी आएको बताएका छन् ।