​इटहरीमा रेप्सिनको दोस्रो संस्करण हुने

Newslaya Home

​इटहरीमा रेप्सिनको दोस्रो संस्करण हुने

सोमबार २१, माघ २०७५

इटहरी । इटहरीमा दोस्रो पटक स्वास्थ्य सेवासम्बन्धि रेप्सिन सम्मेलन हुने भएको छ । माघ २९ गतेदेखि सुरु भई चार दिन चल्ने सम्मेलनमा पुर्वका डाक्टर, नर्स तथा स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहनेछ ।

ईमरजेन्सी मेडिसिनको विषयमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सीपयुक्त बनाउने लक्ष्य राखिएको उक्त सम्मेलनको पहिलो संस्करण गत वर्ष इटहरीमा भएको थियो । बेलायतका डाक्टर तथा विशेषज्ञहरुसमेतको सहभागितामा हुने सम्मेलनले ग्रामीण क्षेत्रको आकस्मीक तथा प्राथमिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सहयोग गर्नेछ ।

सम्मेलनमा सहभागि हुन इच्छुक डाक्टर, हेल्थ असिष्टेण्ट, सि.एम.ए.,नर्सहरुले माघ २३ गते सम्ममा आफ्नो वायोडाटा, काउन्सिलदर्ता प्रमाणपत्र र फोटो आयोजकलाई इमेल गर्नुपर्नेछ । repsin17@gmail.com मा इमेल गरेर आवेदन दिई सम्मेलनमा निःशुल्क रुपमा सहभागी हुन सकिने रेप्सिन इटहरीका सदस्य सचिव रामकुमार धमलाले जानकारी दिए ।

सम्मेलनमा १५० जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु सहभागि हुने छन् । रेप्सिनको यस्तो सम्मेलनले नेपाली चिकित्सकलाई क्षमतावान बनाउने र इमरजेन्सीमा आएका बिरामीहरुलाई थप जोखिमबाट मुक्त बनाइ प्रभावकारी स्वास्थ्य सेवा दिन सक्ने बनाउने विश्वास रेप्सिन इटहरीका संयोजक राजु केसीले व्यक्त गरे ।

के हो रेप्सिन ?

रेप्सिनको पुरा रुप अंग्रेजीमा रिमोट ईमरजेन्सी एण्ड प्राइमरी हेल्थ केयर सर्भिस इन नेपाल हो । सामान्यरुपमा यो नागरिक तहवाट समन्वय भएको एउटा शैक्षिक कार्यक्रम हो । यसमा आकस्मिक चिकित्सा र प्राथमिक स्वास्थ्यसम्बन्धि ज्ञान र सीप प्रदान गरिन्छ । 

रेप्सिनको अवधारणा वेलायतका इमेजेन्सी मेडिसिनका प्रोफसर डा. प्रकाश सुवेदीले तयार गरेका हुन् । रेप्सिन कार्यक्रम अन्र्तगत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको सम्मेलनको आयोजना गर्नुको साथै सीपमूलक कार्याशाला गोष्ठी तथा तालिम प्रदान गरीन्छ ।