​‘बिराना बाटाहरु’ (कविता )

Newslaya Home

​‘बिराना बाटाहरु’ (कविता )

आइतबार २०, माघ २०७५

मैले शैशवकाल देखि आजसम्म 
हिंड्ने गरेको बाटो,
ताते ताते भन्दै अग्रजको हात समाई
हिंड्ने गरेको बाटो,
जीवनको दशकौं सम्म इंच इंच 
नापेझैं गरी हिंडेको बाटो,
बाटाको दूरी र मनको दूरी अनुसार
गन्तव्यसम्म पुर्याएको बाटोले,
मलाई कहिल्यै अपनत्व देखाएन,
अनि मलाई कहिल्यै आफ्नो ठानेन..

म धुलाम्ये हुॅदैं हिंडेको बाटो
मेरो पदचाप छामेको 
अनिसुनेको बाटो,
हिंड्दाहिंड्दै धेरैपटक लडेर धुलो 
टक्टक्याउॅदैं उठेको देख्ने बाटो,
यसरी मेरो हिंडॉई, लडाई र पुनः यात्रारत् 
भएको देख्ने एकमात्र साक्षी यो बाटो,
स्थिर भएर म जस्तै रहु 
भनी दिक्षीत गर्ने बाटो,
मलाई दिशानिर्देश गर्ने बाटो,
मेरा लागि यति धेरै सार्थक बाटोले
मलाई कहिल्यै चिनेन,चिन्न खोजेन। ।

असारमासको झरीमा रुझ्दै हिंडेको बाटो,
बगैंचाका उत्पादन टिपी 
फलोपभोग गर्न हिंडेको बाटो,
शिक्षा आर्जन गर्न र यात्राका 
दौरान भेटिएका ,
यस्ता अनेकौं शाखा ,उपशाखा बाटाहरुले
मलाई कहिल्यै चिनेनन्,
मलाई सधैं बिरानै संझेछन् ,
शायद....
प्रकृतिले बनाएको ‘म’र 
मानिसले बनाएको ‘बाटो’हरु 
भएर पो हो कि ?
यसरी तिमीले पराई ठानेको..