विद्यार्थीहरुले देखाए स्मार्ट सिटि र प्रविधि, प्रदेश मन्त्रीले भने, ‘अबको युग विज्ञान र प्रविधिको’

Newslaya Home

विद्यार्थीहरुले देखाए स्मार्ट सिटि र प्रविधि, प्रदेश मन्त्रीले भने, ‘अबको युग विज्ञान र प्रविधिको’

बिहीबार ०२, फागुन २०७५

इटहरी । केही दिनअघि दिउँसो इटहरीस्थित कोशी सेन्ट जेम्स आवासिय माध्यमिक विद्यालयको मैदान भरीभराउ देखिन्थ्यो । विद्यालयभवन अघिको मैदान सधैको वर्ष भरिभराउ देखिन्छ । कारण, त्यहाँ विज्ञान प्रदर्शनी हुने गर्छ । 


यो पटक पनि गज्जबको प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीस्थलमा छिर्नको लागि एउटा कार्ड दिइन्थ्यो । कार्डलाई ढोकामा स्वाइप गर्ने बित्तिकै आगन्तुकको संख्या थपिँदै जान्थ्यो । 



‘कति जनाले भ्रमण गर्नुभयो भनेर यसबाट थाहा हुन्छ,’ स्वाइप गराउने काममा खटिएका एक विद्यार्थीले भने, ‘सजिलो र प्रभावकारी तरिका हो ।’ नभन्दै कार्डलाई विद्यार्थीहरुले नै बनाएको मेसिनमा राखेर स्वाइप गर्ने बित्तिकै नजिकै रहेको डिजिटल स्क्रिनमा अंक थपियो । 

आगन्तुकहरुले एक सय बढी स्टलहरुमा विद्यार्थीहरुको प्रविधि र प्रतिभाको अनुपम संगम देख्ने मौका पाए । विद्यार्थीहरुले रिमोटबाट चल्ने गाडीदेखि शहरको ट्राफिक सिस्टम र स्मार्ट शहरसम्मको नमुना प्रस्तुत गरे । विद्यार्थीहरुले आफूसँग भएको स्केच प्रतिभासमेत देखाए । जहाँ उनीहरुले गरेका राम्रो स्केचहरु थिए । 


साना साना बालबालिकाहरुसमेत निकै उत्साहित भएर आफ्नो प्रतिभा र प्रस्तुती अगाडी राखेर बसेका थिए । आउने र सोध्ने आगन्तुकहरुलाई उनीहरु त्यसबारे ब्रिफिङ गर्थे । 
कार्यक्रममा बालबालिकाका अभिभावकहरुको समेत सहभागिता रहेको थियो । उनीहरु आफ्ना छोराछोरीले बनाएको समाग्रहीहरु देखेर दंग परेका थिए । 



कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको समेत उपस्थिती थियो । उनले विद्यार्थीहरुको प्रतिभा र प्रविधिको स्टलहरुसमेत नियाले । उनले प्रतिक्रिया दिँदै भने, ‘अबको युग विज्ञान र प्रविधिको युग हो,’ उनले थपे, ‘विद्यार्थीहरुको क्षमतालाई पहिचान गरी व्यवहारिक र प्रविधि मैत्री शिक्षामा प्रदेस सरकारले जोड दिनेछ ।’

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष मनु मन्जिलले सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीहरु सहायक हुने बताए ।