‘अनुत्तरित प्रश्नहरु’ (कविता)

Newslaya Home

‘अनुत्तरित प्रश्नहरु’ (कविता)

बुधबार १६, माघ २०७५

तिमी हिंड्ने बाटाहरु 
म हिंड्ने बाटाहरु 
सबै समान छन्,
तर किन गन्तव्य फरक छ?
तिमीले खानेअन्न ,
मैले खानेअन्न 
यही उब्जन्छन्,
तर,
किन हाम्रो मनै फरक छन् ?
किन हाम्रा विचार फरक छन् ?
किन क्रिया फरक छन् ?

तिम्रो स्कूल, मेरो स्कूल
तिम्रो पुस्तक, मेरो पुस्तक,
सबै एउटै हुन्, उस्तै उस्तै हुन्,
तर किन विध्या फरक छ ?
किन ज्ञान फरक छ ?

हेर्ने वस्तु एउटै छन्
ऑखा पनि उस्तै देखिन्छन्,
अर्थात्,
दृष्टिपनि समानै छन्
तर 
किन दृष्टिकोण फरक छ ?
तिमीले पिउने पानी
मैले पिउने पानी,
सबैको मूल एउटै हो,
तर पनि,
किन प्यास फरक छरु

तिम्रो शरीरमा पनि
रातो रगत बग्छ,
मेरोमा पनि रातै रगत बग्छ
तिम्रो मुटू पनि ढुकढुक गर्छ
मेरो  मुटु पनि  ढुकढुकै गर्छ,
तर ,
किन  व्यवहार फरक छ ?
किन अनुभूति फरक छ ?

तिमी पनि कर्म गर्छौ
म पनि कर्मै गर्छु,
तिमी पनि परीक्षार्थी
म पनि परीक्षार्थी,
तर 
किन परिणाम फरक छ ?

तिमीले पनि यहीको
 धुवॉ धुलो खाएको,
मैले पनि यहीकै 
धुवॉधुलो खाएको,
तर किन हाम्रो 
जठराग्नि फरक छ ?