मनोमानी ब्याज बढाएको भन्दै बैंकविरुद्द उध्योगीहरुले आन्दोलन थाले

Newslaya Home

मनोमानी ब्याज बढाएको भन्दै बैंकविरुद्द उध्योगीहरुले आन्दोलन थाले

शुक्रबार ११, माघ २०७५

विराटनगर । बैंकहरुले आफूखुसी ब्याजदर बढाएको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरु आन्दोलित भएका छन् । शुक्रबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगरमा पत्रकार सम्मेलन गरेर सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि राष्ट्रबैंकमा धर्नासम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रुपमा ब्याज बढाएको भन्दै संगठन र संघले आन्दोलन घोषणा गरेका हुन् । बैंकको बढ्दो ब्याजदरकै कारण उद्योगहरु संकटग्रस्त भएको उनीहरुको भनाइ छ ।  

लगानीमैत्री वातावरण बनाउन पटकपटक दिएको सुझाव सरकारले बेवास्ता गरेको उद्योगीहरुको गुनासो छ । बैंकले १२ देखि १८ प्रतिशतसम्म ब्याजदर पु¥याएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनीहरुले प्रथम चरणका कार्यक्रमअन्तर्गत माघ १३ गते आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, विराटनगरस्थित नेपाल राष्ट्रबैंकलगायत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने भएका छन् । 

यस्तै माघ २० देखि २३ गतेसम्म हरेक दिन धर्ना दिने आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । माग सम्बोधन नभए दोस्रो चरणमा माघ २४ गते सम्पूर्ण उद्योग व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरेर निरन्तर धर्ना दिने अध्यक्ष घिमिरेले जानकारी दिए । 

पछिल्लोपटक बैंकहरुले वृद्धि गरेको ब्याजका कारण लगानीकर्ताहरु हतोत्साहित भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा बताए । केही महिनाअघि दुवै संस्थाले प्रधानमन्त्रीसहितका सरोकारवाला मन्त्रीहरुलाई भेटेर लगानीमैत्री वातावरण बनाउन सुझाव दिएका थिए । तर सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले सांकेतिक विरोध गर्न बाध्य भएको अध्यक्ष सारडाले बताए ।

उनीहरुले नेपाल राष्ट्रबैंकमार्फत उद्योग, व्यवसाय क्षेत्रको राहतका लागि उत्पादनमूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतसम्म ब्याजदर कायम गर्न मागसमेत गरेका छन् । संगठनका अध्यक्ष घिमिरेले बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सहज किसिमबाट लगानी गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रहसमेत गरे । 

मोरङ, सुनसरी औद्योगिक करिडोरमा साना–ठूला गरी ६ सयभन्दा बढी उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगमा ८० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।