​विराटनगरमा माघ ९ देखि जुत्ता मेला

Newslaya Home

​विराटनगरमा माघ ९ देखि जुत्ता मेला

आइतबार ०६, माघ २०७५

विराटनगर । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराटनगरमा यो वर्षपनि विराट फूटवेयर एक्स्पो हुने भएको छ । 

आयोजक समितिले  आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी विषयमा जानकारी गराएको हो । विराटनगर–७ स्थित बैंक अफ काठमाडौं अगाडिको खाली जग्गामा यही माघ ९ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जानकारी गराइएको छ ।

एक्स्पोमा महिला, पुरुष,केटाकेटीका जुत्ता,चप्पल, स्र्पोटस, पार्टी सु लगायत व्याग र पेटीमा १५ देखि ६० प्रतिशतसम्म छुटमा बिक्री गरिने मेला आयोजक संघका संयोजक होमनाथ उपाध्यायले बताए । आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छानामुनि प्रतिस्पर्धात्मक मूल्यमा  गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलब्ध गराउन एक्स्पोको आयोजना गरिएको उनले बताए ।

नेपालमा वार्षिक ७ करोड जोडी जुत्ताचप्पलको खपत रहेकोमा स्वदेशी उत्पादन ४ करोड ७५ लाख जोडी मात्र रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जुत्ताचप्पलको वार्षिक कारोबार ३२ अर्ब वरावरको रहेको तथा स्वदेशी उद्योगमा १६ अर्बको लगानी रहेको जनाइएको छ । मेलामा ३ करोडको कारोवार हुने र ३ लाख सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने मेला संयोजक समितिको अपेक्षा छ । गतवर्ष विराटनगरमा आयोजना गरिएको पहिलो जुत्तामेलामा ३ करोड बढीको कारोबार भएको थियो ।