​२ लाख ३० हजार जनाले रोजगारी पाउने

Newslaya Home

​२ लाख ३० हजार जनाले रोजगारी पाउने

आइतबार ०६, माघ २०७५

काठमाडौं । चालु आर्थिक वर्षमा दुई लाख ३० हजार जना नेपालीले रोजगारी पाउने भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आउँदो असार मसान्तसम्म दुई लाख ३० हजार रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।

मन्त्रालयका सहसचिव प्रकाश दाहालले दुई लाख ३० हजार जनाले असार मसान्तसम्म परियोजना र विकास निर्माणमा काम पाउनेछन् । कम्तीमा सय दिन रोजगारी पाउने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । मजदुरले दैनिक पाँच सय १७ रुपैयाँ पाउने गरी वार्षिक करिब ५२ हजार रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।

मेसिनमा ८० प्रतिशत र श्रममा २० प्रतिशत खर्च गरी स्थानीय तहमै व्यापक रोजगारी सिर्जना गर्ने सरकारको योजना छ । यसअघि विभिन्न विकासे आयोजना तथा परियोजनामा कुल बजेटको १५ प्रतिशत श्रमिकमा खर्च हुँदै आएको थियो ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउन यसै हप्ता सूचना प्रकाशित गरी सात सय ५३ स्थानीय तहका लागि रोजगार संयोजक नियुक्त गर्ने तयारी गरेको छ। संयोजकले स्थानीय तहका कर्मचारीको सहयोगमा रोजगार सूचना व्यवस्थापन प्रणालीको काम गर्नेछन् । 

फारम भरेका तर रोजगार नपाएका व्यक्तिको बेरोजगार भत्ताका लागि केन्द्रीय सरकारलाई सिफारिस गर्नेछन् ।

सात सय पाँच स्थानीय तहमा अधिकृतस्तरको र ४८ तहमा नासुस्तरको रोजगार संयोजक छनोट हुनेछन् । इच्छुक उम्मेदवारले अनलाइनबाटसमेत फारम भर्न सक्नेछन् ।