अरुण तेस्रोको काम १५ प्रतिशत सकियो

Newslaya Home

अरुण तेस्रोको काम १५ प्रतिशत सकियो

शनिबार ०५, माघ २०७५

खाँदबारी । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम १५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

अरुण तेस्रो निर्माणको जिम्मा पाएको सतलज कम्पनीले आयोजनाको ड्याम्साइड, पावरहाउस क्षेत्र र सडक निर्माणको १५ प्रतिशत काम सम्पन्न गरिएको जानकारी दिएको हो ।

कम्पनीका सीईओ सतिसकुमार शर्माले नौ सय मेघावाटको अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । बाँध निर्माणस्थलको मुख्य सुरुङ अन्तर्गतको प्रवेश सुरुङ निर्माणको काम तीन सय ५२ मिटर सम्पन्न भएको उनको भनाइ छ ।

अहिलेको प्रगतिअनुसार समयमा काम सम्पन्न गर्न सक्ने अवस्था रहेको शर्माको भनाइ छ । सतलजले विभिन्न कम्पनीलाई छुट्टाछुट्टै ठेक्का दिई आयोजना सञ्चालन गरिरहेको छ । 

समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई हटाई समयमा काम गर्ने कम्पनीलाई काम दिने गरेकाले पनि समयमा सक्ने आयोजनाको दाबी छ । 

सात जिल्ला हुँदै उत्पादित विद्युत् ढल्केबरसम्म आयोजनाले लैजाने जानकारी गराइएको छ । आयोजनास्थलसम्म जाने सडक निर्माणको काम पनि आयोजनामार्फत भइरहेको जनाइएको छ ।