गोकुलम : मेरो सपना अनि संघर्ष

Newslaya Home

गोकुलम : मेरो सपना अनि संघर्ष

- राधेश्याम पौडेल
शनिबार ०५, माघ २०७५

मेरो जन्म काठमाडौँमा भएपनि बाल्यकाल यहि इटहरीमा बित्यो । म २०६५ साल तिर काम विशेषले यता आएको थिए र म यहिँ बस्न थालेँ । मेरा आफन्त र साथीभाईहरु मलाई सम्झेर यहाँ आउने गर्दथे । तर त्यसबेला उनीहरुलाई घुमाउनको लागि यहाँ घुम्ने खालका ठाउँहरु थिएनन् ।

घुम्ने ठाउँहरुको अभावका कारण म उनीहरुलाई घुमाउनको लागि म इण्डियातिर लैजाने गर्दथेँ । छन त यहाँ पनि घुम्नको लागि भेडेटार त थियो, धेरै मानिसहरुले भेडेटार घुम्न रुचाउँथे तर काठमाडौँका मान्छेको लागि भने भेडेटार भनेको तेत्रो ठुलो ठाउँ भन्ने नहुँदो रहेछ । उनीहरुले भन्ने गर्थे, ‘यस्ता डाँडाकाँडा त काठमाडौँमा पनि छँदै छन् नि, अन्तै कतै घुम्न जाउँ ।’ त्यसैले म उनीहरुलाई घुमाउन जोगबनी तिर लैजाने गर्दथेँ । 

त्यसपछि आफ्नो ठाउँमा अल्मलिनको लागि पनि केहि कुरा त चाहिन्छ । इटहरी आएका मानिसहरु घुम्नको लागि अरुको देश जानुपर्ने मलाई पटक्कै चित्त बुझेन । अनि त्यसपछि मेरो दिमागमा आफ्नै ठाउँमा घुम्नको लागि केहि बनाउनु पर्छ भनेर गोकुलम निर्माण गर्ने सोँच आयो । 

आठ हजार मूर्तीको कल्पना
सोच त आयो तर कसरी गर्ने ? त्यतिबेला इटहरीमा जग्गाको मूल्य पनि एकदमै उच्च थियो । अझ इटहरी बजारमा त जग्गा किन्न सक्ने अवस्था नै थिएन । थोरै जग्गामा केही गर्न सकिन्छ जस्तो पनि लागेन । त्यसपछि अब बजार क्षेत्रमा त जग्गा किन्न सकिदैन भनेर अन्य विकल्पको खोजि गर्न थालेँ ।  शहर बाहिर अन्त कतै खोज्नु पर्छ भन्ने सोँच आयो । त्यसपछि मैले अहिलेको गोकुलम भएको ठाउँमा जग्गा खरिद गरेँ । 

तर त्यति बेला यो ठाउँ को न इतिहास थियो न त कुनै विशेषता । कसरी यो ठाउँ बनाउने भन्ने ध्याउन्नमा लाग्न थालेँ । मानिस कुन हिसाबले यहाँ आउने त ? त्यत्तिकै केहि नभई त यहाँ आउँदैनन् । पर्यटकीय स्थल त बनाउने, तर के राख्ने त, केहि अनौठो चिज नराखि त मानिस घुम्न आउँदैनन् । त्यसपछि मलाई मानिसहरुलाई आकर्षित गर्नको लागि यहाँ एक हजार आठ मूर्तीहरु बनाउने र धार्मिक मेला सञ्चालन गर्ने विचार आयो । 

तर सबै मानिस धार्मिक हिसाबले मात्र त यहाँ आउँदैनन् । अहिलेका मानिसलाई मनोरञ्जन पनि आधारभूत कुरा जस्तै भइसक्यो । उनीहरुको मनोरञ्जनको लागि यहाँ अन्य चिजहरुको पनि बन्दोबस्त गर्नुपर्छ भनेर सोच्न थालेँ । तर गर्ने चै के त ? 

अन्जानमै खेपेको वनको मुद्धा
त्यतिबेला मैले नचाउँदै हिँडेका भालुहरु, यहिँ पाएको अजिंगर यस्ता चिजहरुलाई र बजारमा बिक्रिको लागि बोकेर हिँडेको चराहरुलाई कलेक्सन संकलन गर्न थालेँ । ती चीजहरुलाई राख्न थालेँ । मानिसको आगमन केही बढ्न त थाल्यो, तर त्यसले मेरा लागि थोरै समस्या पनि निम्त्याईदियो । 

त्यतिबेला मैले वनको मुद्दा पनि मैले खेप्नु पर्यो । त्यसरी वन्यजन्तु पाल्न पाइँदैन अहिलेपनि । तर त्यतीबेला पनि मैले पालेको भन्दा पनि अरुले नचाउँदै गरेका वा बेच्न लगेका वन्यजन्तुलाई राखेर संरक्षण गरेको मात्र थिए । अहिले धेरैजसो सिमसारले पनि त्यही गर्ने गर्छन् ।

त्यसपछि मैले केहि साथीहरु मिलेर पार्टनरसीपमा अर्को ढंगले आफ्नो लक्ष्यलाई निरन्तरता दिन थाले ।

साथीहरुले साथ छाडेको त्यो समय
त्यतिबेला गोकुलममा अहिले भएको रुपरेखाको निर्माण गर्न मै एक वर्ष लाग्यो । तर निर्माण गर्नुपर्ने धेरै कुराहरु बाँकी रहेका थिए । त्यो एक वर्ष बितिसकेपछि एउटा यस्तो परिस्थिति आयो कि जसले मलाई निल्नु न ओकल्नु बनायो । किनभने मैले सुरुमै जग्गाको पैसा एक वर्ष बितेपछि दिन्छु भनेर सर्त राखेको थिएँ । तर त्यतिबेला मसँग पैसा थिएन । जसको कारणले मेरो सपना झण्डै बिचमै टुटेको थियो । यता निर्माणको कामा पनि रोकिएला जस्तो भयो । 

सोचेजस्तो सफलता हात नलागेपछि मेरा केही साथीहरुले यो कार्य ठिक छैन भन्ने कुरा गर्न थाले । त्यसपछि उनीहरु प्रोजेक्टबाट निस्कन चाहे । त्यसपछि मैले बाँकी रहेका अन्य साथिहरुलाई मेरो कारणले अफ्ठ्यारो हुन्छ भनेर बिदा दिएँ । हामी १० जना मिलेर सुरु गरेको यो प्रोजेक्ट एक वर्षको अवधि बित्दा नै म एक्लो भएँ । त्यसपछि बाँकि रहेको कार्यलाई म एक्लैले जिम्मा लिनुपर्ने भयो । यता कामदारहरुलाई दिनुपर्ने पेमेन्ट पनि बाँकि नै थियो । 

पैसाको अभावले गर्दा त्यतिखेर निकै अफ्ठ्यारो स्थिति देखा पर्न थाल्यो । यतिसम्म कि मेरो घर परिवारका सदस्यालाई नै यसले गतिलो काममा हात हालेको छैन जस्तो लाग्न थाल्यो । उनीहरुले यो सोच्न थाले कि गतिलो काम गरेको भए दश–दश जना मान्छे किन निस्कन्थे ? यदि राम्रो हुने भएको भए अरुले चाहि छोड्थे ?

हार मान्न नदिने सपना
हो, उनीहरुले मलाई फलो गरे । तर मेरो सपनालाई फलो गरेनन् । त्यसैले अलिकति समस्या हुने बित्तिकै उनीहरु टाढिए । तर म मेरो सपनासँग टाढा हुन सक्दिनथेँ । उनीहरु ग्लामर खोज्दै आएका थिए । म त्योभन्दा पर मेरो भविष्य खोजिरहेको थिएँ, जसमा समाजले पनि केही पाओस् भन्ने उद्देश्य थियो । 

मैले गोकुलमलाई परिचित बनाउनको लागि टिफिन कार्यको सुरुवात गरेँ । त्यसबाट पैसा कमाउने भन्दा पनि हामी छौँ, हाम्रो पनि उपस्थिति छ है तपाईको सेरोफेरोमा भन्ने किसिमको सन्देश प्रदान गर्ने कार्य सुरु भयो । त्यतिबेला बैँक, पसल गरेर सात आठ सय वटा ग्राहकहरु थिए । टिफिनले हामीलाई ठाउँ ठाउँमा पुर्यायो । कार्यालय, बजारमा हाम्रो परिचय पुर्यायो ।

यो गोकुलम भन्ने कहाँ छ, कहाँबाट आउँछ यो टिफिन भन्ने किसिमको कौतुहलता बन्न थालेको थियो । त्यतिबेलासम्म हामीले तयार गरिसकेका संरचनाहरु बनिसकेकोले गर्दा कहाँ बन्दो रहेछ हाम्रो खाजा भनेर हेर्न आउने मान्छेहरु पनि भए । त्यतिबेलाको समयमा फेसबुकको लहर पनि राम्रै थियो । मानिसहरुले यहाँ आउने फोटो खिच्ने र फेसबुकमा पोष्ट गर्ने कार्यले अन्य व्यक्तिहरुको आकर्षण पनि बढ्न थाल्यो । 

नाकाबन्दीको चेप
तर विडम्बना हाम्रो त्यो कार्यले पनि धेरै निरन्तरता पाउन भने सकेन । किन भने इण्डियाले गरेको नाकाबन्दीको कारण ग्याँस, डिजेल, पेट्रोलको अभाव हुन थाल्यो र हामीले टिफिन कार्य बन्द गर्न बाध्य भयौँ । जुन आजसम्म पनि हामीले फेरि सञ्चालन गर्न सकिरहेका छैनौँ । तर ग्यास र पेट्रोलको अभावका कारणले हामीले पुन सञ्चालन गर्न नसकेको भने होइन । नाकाबन्दीले हाम्रो मार्केट र म्यानेजमेन्टमा पारेको असरका कारणले हामीले त्यो कार्यलाई निरन्तरता दिन नसकेको हो । 

त्यो नाकाबन्दीको समाप्तिपछि पुनः हामी सम्हालिदैँ गयौं । नयाँ वर्ष २०७३ वैशाख १ गते हामीलाई धेरै ठुलो अवसर प्राप्त भयोे । त्यतिबेला गोकुलममा लगभग १९ हजार मान्छेहरु अवलोकन गर्न आएका थिए । र त्यो समयमा मलाई दशैँ भन्दा पनि ठुलो चाड लागेको थियो । 

बैंकहरुले नपत्याउँदा
मैले आवश्यक पैसाको लागि बैंकहरुसँग पनि धेरै कुरा गरेँ । तर मलाई बैंकले पत्याएनन् । मैले बैंकसँग कुरा गर्दा बैंकले ‘यो प्रोजेक्ट चल्छ कि चल्दैन?’ भन्ने जस्ता कुराहरु गथ्र्यो । जुन आजका दिनसम्म जारी छ ।

कतिपय बैंकका मानिसहरुले ‘तपाईको कन्सेप्ट त ठिक छ, तपाईको प्रोपटी तपाईको कन्सेप्टको लागि उपयुक्त होला तर यदि तपाईको कन्सेप्ट फेल भएको अवस्थामा यो प्रोपटीको के काम ?’ भन्ने जस्ता कुराहरु पनि गरे । 
र त्यस समयमा मेरो बिजनेस पनि राम्रो थिएन । अन्ततः मैले गाउँलेहरुसँग नै पैसा उठाउनु प¥यो । व्यक्तिहरुसँग पनि पैसा उठाउनु प¥यो । महँगो ब्याजमै सही मैले पैसा लिएँ, जोखिम मोलेँ ।

बैंकले मलाई आजको दिनसम्म पनि पत्याएको छैन । सरकारले प्रायोरिटी सेक्टर भनेर टुरिजमलाई घोषणा गरेको छ । तर हामी यति धेरै पर्यटकहरुको आवागमन हुने ठाउँ भएर पनि हामीले प्रायोरिटी नपाएको महसुस गरेका छौं ।

अहिले गोकुलममा बोटिङ, घोडचढीदेखि उँटसमेत चढ्न पाइन्छ । बालबालिकाको लागि पार्क छ । रेष्टुरेन्ट छ । डुंगा आकृतिको भव्य घरभित्र सुविधासम्पन्न कोठाहरु छन्, जहाँ नेपाल तथा भारतबाट आगन्तुकहरु रात बिताउन आउँछन् ।

यहाँ तालमहल, आइफल टावर लगायतका ल्याण्डमार्कहरुको नमुना बनाइएको छ । हामीले पुरानो प्लेन ल्याएर राखेका छौं । छिटै रेललगायतका आकर्षणहरु थप्दैछौं । अहिले दिनैपिच्छे दर्जनौंको संख्यामा आगन्तुकहरुको भीड लाग्छ । शनिबार र चाडपर्वको समयमा निकै ठूलो जमघट हुन्छ । पिकनिकका लागि समेत ठाउँको व्यवस्था गरिएको छ, जहाँ शनिबार निकै ठूलो भीड लाग्छ । 

सबैको सद्भाव र मायाका कारण हामीले गोकुलममा नयाँ नयाँ सुविधा थप्दै गइरहेका छौं । अझ विशेष र आकर्षक बनाउने क्रम अझै जारी छ । गोकुलमभित्र निर्माण कार्य अझै जारी छ । यो सबै खर्चको व्यवस्थापन अहिले सहज रुपमा भइरहेकोछ । आशा छ, आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरु हामीलाई लगानी गर्न इच्छुक हुनेछन् ।

हाँसेरै सहेको बाढीको घाउ
जे जस्तो भए पनि हाम्रो विजनेस अर्थात् मेरो सपनाले पाइला टेक्दै थियो । त्यस्तैमा फेरी मैले अर्को झट्का पाएँ । साथीहरुले साथ छाडेको मेरो सपनालाई प्रकृतिले पनि साथ दिएन ।

२०७४ साल साउनको अन्त्यतिर बुढीखोलामा आएको बाढीले मेरो मुटु नै छिया छिया हुने गरि फेरी अर्को घाउ दियो । बाढीले गोकुलमभित्र तहसनहस गर्यो । ठूलो आर्थिक क्षती गरायो । 

मलाई त्यतिबेला कति जति क्षति भयो भनेर सोध्ने कुराहरु व्यापक रुपमा आइरहन्थे । तर मैले क्षतिलाई मुल्याङ्कन गरेर भन्नु भन्दा पनि अहिले यो सामान्य हो त्यस्तो खालको क्षति होइन भन्ने जवाफहरु दिइरहेँ । 

त्यतिबेला हिलो सिलो साफ सफाई गर्नको लागि मेरो २०÷२५ लाख रुपैया खर्च भयो भनेर मैले भने । किनकी त्यो मेरो एउटा बाध्यता थियो । धेरै ठुलो क्षति भयो भन्दा त्यसको ब्याड इम्प्रेसन पनि पर्न सक्छ । तर त्यतिबेला हिलो सफा गर्नको लागि ३ करोड रुपैया खर्च भएको रहेछ । 

त्यो समयमा त्यो पीडा मैले मात्र होइन मलाई सर्पोट गर्ने मेरो सालो सतिसले पनि त्यो पीडाको महशुस गरे । तर मलाई भने मेरो त्यो घाउलाई दबाएर राख्नुपर्ने स्थिति थियो । किनभने यदि मै निराश भइदिने हो भने मेरो टिमको आशा पनि त्यसै मरेर जान्छ । त्यसैले मैले मेरो त्यो घाउ आफू भित्रै लुकाएर राखेँ । 

स्थानियले दिएको हौसला नै औषधी
सुरुमा गोकुलमको स्थापना भन्दा अगाडी यो ठाउँको नाम चरिगुवा थियो । अहिले पनि नाम त त्यहिनै छ । तर अहिले चरिगुवा भन्दा पनि गोकुलम भनेर चिनिन थालेको छ । हामीले त्यो चरिगुवा मेट्नु हुँदैन राख्नु पर्छ भनेर बोर्डहरुमा चाहि चरिगुवा पनि लेख्ने गरिरहेका छाँै । त्यसको इतिहासलाई, ऐतिहासिक नामलाई कसरी हुन्छ हामीले मेट्न दिनु हुँदैन । 

त्यसो त मलाई यहाँको स्थानीय वासिन्दाहरुले पनि निकै सर्पोट र माया गर्नु भएको छ । उहाँहरुले मलाई भन्नु हुन्थ्यो कि ‘के गर्नु पर्ने हो ?’ हामी छौँ । तपाई एक कदम पछाडी नसर्नुहोस्, हिजो एक कदम मात्रै बढ्दै हुनुहुन्थ्यो भने आज दुई कदम बढ्नुहोस् भनेर मलाई हौसला प्रदान गर्नुभयो । साथसाथै उहाँहरुले मलाई सापटीको रुपमा केहि पैसा पनि सहयोग गर्नु भयो । श्रमको पनि सहयोग गर्नुभयो । 

यहाँको स्थानीयले दिएको जुन सहयोग छ, मैले उहाँहरुको सहयोगको गुण तिरेर सक्दिनँ । बाढीको समयमा मलाई शसस्त्र प्रहरी, नेपाल प्रहरीहरुलगायतका ठाउँहरुबाट पनि सरसफाइदेखि लिएर अन्य कुराहरुमा पनि सहयोग भयो । 

समस्यामा छु, तर हारेको छैन
आजको दिनसम्म पनि गोकुलम बनाउने हाम्रो संघर्ष जारी नै छ । तर आजको दिनमा पनि बैंकले हाम्रो यो प्रोजेक्टलाई पत्याउन सकेको छैन । र कुनै बैंक हामीसँग हात मिलाउन तयार पनि देखिएका छैनन् ।

तर पनि मलाई मेरो सपना प्यारो छ । मैले देखेको सपनालाई, मेरो कल्पनालाई पुरा गर्ने अठोट लिएको छु । मलाई अहिलेसम्म काममा अगाडी बढ्नको लागि प्रेरणा दिने सम्पुर्ण आगन्तुक र भोलिका दिनमा आउन चाहनु भएका आगन्तुकहरुलाई हार्दिक स्वागत गर्छु ।

 

गोकुलम रिसोर्टमा पिकनिक आउनेको संख्या बढ्दो

​​यस्तो देखियो नयाँ वर्षमा गोकुलम (फोटो फिचरसहित)

म्युजियम बन्दै प्लेन || Gokulam Aroplane

Gokulam Ghumgham ll गोकुलम घुमघाम

गोकुलममा बनेको भीआइपी लजमा आकर्षण बढ्दो (फोटो फिचरसहित)