​यसकारण सुस्त छ हाम्रो बजार (आर्थिक विश्लेषण)

Newslaya Home

​यसकारण सुस्त छ हाम्रो बजार (आर्थिक विश्लेषण)

तारा कट्वाल
शनिबार ०५, माघ २०७५

अहिले बजार सुस्त छ । त्यसमा पनि हार्डवेयरको बजारले त्यति गति लिन नसकिरहेको अवस्था रहेको छ । 

किनभने यो व्यापार भनेको निर्माण कार्यसँग सम्बन्धित रहेको छ । अहिले मान्छेले एउटा सामान्य चार कोठे घर बनाउन पनि २२÷२५ लाख खर्च लाग्छ । 
उक्त घर बनाउने मान्छेसँग पनि सबै रकम नगद नै हुन्छ भन्ने पनि हुँदैन । उसले पनि बैंक तथा वित्तिय संस्थाहरुसँग ऋण लिएर कारोबार गर्नुपर्ने हुन्छ । तर अहिले बैंकहरुले ऋण पनि खुलेर दिइरहेको अवस्था छैन । 

त्यसकारणले गर्दा पनि अहिले हार्डवेयर व्यवसायमा मन्दिको अवस्था देखा परेको छ भने व्यवसायीमा निराशा छाएको छ । 

मन्दि पनि तीन चार वटा अवस्थाको हुने गर्दछ जुन विभिन्न पत्रपत्रिका र रेडियोहरुले पनि भन्ने गरेका छन् । जसमध्ये सरकारको खर्चको कारण हुन्छ । सरकारले पनि जुन दरमा खर्च गर्नु पर्ने हो त्यो दरमा खर्च गर्न सकेको छैन । सरकारको खर्च नहुनु भनेको विकास निर्माणका काममा खर्च कम हुनु हो । हार्डवेयर व्यवशाय विकास निर्माण धेरै भयो भने मात्र राम्रो चल्ने व्यवशाय हो ।

अघिल्ला वर्षको यहि समय अवधिमा हार्डवेयर व्यवसायमा अलि बढी तेजि नै थियो । रड कम्पनी, सिमेन्ट कम्पनीहरुले मूल्य बढाएको अवस्था थियो । मूल्य बढेपनि अहिलेभन्दा त्यतिबेलाको बजारको स्थिति राम्रो थियो । 

तर यो वर्ष अहिलेकै अवधिमा समस्या सुरु भयो । यो वर्षको माघमा समस्या झन् बढ्न सक्छ । किनभने यो ६ महिनाको पैसा राजस्वमा सबैले हाल्नुपर्ने हुन्छ । गतवर्षको अर्थिक मिलानको पनि हिसाब गर्नुपर्ने हुन्छ । र यहि अवस्था रहिरह्यो भने गाह्रो स्थिति उत्पन्न नहोला भन्न सकिन्न । 

सरकारको खर्चकै कुरा गर्दा हुन त जेठ, असारमा आएर विकासका धेरै काम हुने गरेका छन् । तर हरेक चिजको झैँ हाम्रो पनि एउटा निश्चित समय तालिका हुन्छ । यदि एक वर्षको अवधिलाई हाम्रो समय तालिका मान्ने हो भने दुई महिना मात्रै खर्च गर्दा त्यसले हाम्रो माग र आपुर्ती दुवैलाई बिगार्छ । 

एउटा निश्चित समयअवधिमा एक महिना भित्रमा खर्बौ रुपैयाको कारोबार गर्नलाई त सबैसँग स्टक पनि हुँदैन । त्यसले प्राकृतिक रुपले हुनु पर्ने वृद्धिदरलाई समेत रोक्छ र बजारमा राम्रो भन्दा नराम्रो रुपमा विकृतिको चिजहरु ल्याउँछ । 

यस्ता कतिपय कुराहरुमा सरकारले र नीति निर्माताहरुले पनि ध्यान दिनु पर्ने हो । अहिले कतिपय नगरपालिकाहरुमा सामान पठाइन्छ, पैसा लिन गयो कर्मचारीहरुको आन्दोलन छ, अहिले हुँदैन भन्छन् । यसरी समयमा भुक्तानीहरु प्राप्त नभइरहेको अवस्था पनि छ । यस्ता कुराहरु त सरकारले पनि मिलाउनु पर्ने हो । तर कर्मचारी समायोजनको कारणले होला सरकारले यी कुरामा ध्यान दिन नसकेको । 

कुनै कामको लागि दश जना कर्मचारीले हस्ताक्षर गर्नुपर्ने हुन्छ र एक जना पनि कर्मचारीको हस्ताक्षर नै भएन भने पनि उक्त काम लामो समय सम्म रोकिरहन्छ । त्यसैले सबै क्षेत्रबाट व्यापार मैत्री वातावरण बन्न नसक्दा अहिले व्यापार व्यवशायमा संकट छ ।