नदेखिने देवी पुज्ने अनि देखिने देवीलाई पैताला राख्ने ?

Newslaya Home

नदेखिने देवी पुज्ने अनि देखिने देवीलाई पैताला राख्ने ?

विद्या शर्मा
शुक्रबार ०४, माघ २०७५

हामी नारीहरु सयौं पीडा लिएर खपेर बस्छौँ । के गर्नु हाम्रो समाज यस्तै छ । पुरुषले जे गरे नि राम्रो हुने, स्याबासी पाउने । तर नारीलाई जहिल्यै लान्छाना । नारीहरु जहिल्यै आलोचनाको शिकार हुने । नारीहरु असभ्य, नारीहरु कलंकित । 

जोतेर बारी कहाँबाट ल्याउछौ सीता? छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो एक प्रश्न, ‘छोरी त फाल्छौ बुहारी कहाँ बाट ल्याउछौ ?’ यी ठुला संसारमा जम्मा तीन किसिमका लिङ्ग भएका मानिसहरु रहेका छन्, पुरुष, महिला र तेस्रोलिङ्गी । 

पुरुषहरुको कुरा नै नगरौं, उनीहरुले त जे गरेपनि राम्रो । यता तेस्रोलिङ्गीको संख्या अत्यधिक कम रहेको कारण उनिहरुलाई अधिकार दिन राज्यलाई खासै गाह्रो पनि नपर्ला, तर आधा आकाश ढाकेका महिलाहरुले अधिकार नपाउनु र महिलाहरुलाई दोस्रो दर्जामा गन्नु चाहिँ लज्जाको विषय हो कि ?

हुन त यो नेपालको मात्र नभएर सारा विश्वकै चुनौतीको विषय पनि हो । महिलाहरुको हक हित अधिकार, आधारभुत आवश्यकताको परिपुर्ति, सामाजिक सुरक्षाको प्रत्याभूति आदि विषयलाई महिला अधिकारको रुपमा व्याख्या गरिन्छ । तर यो कागजमा सिमित छ । 

महिलाहरुको लागि खोलिएका धेरै एनजिओहरु छन् । धेरै निकायहरु छन् । महिला आयोग, माइती नेपाल लगायतका विभिन्न संस्थाहरु पनि छन् । चर्का चर्का भाषणहरु गरिन्छन् । लाखौं, करोडौं खर्चेर कार्यक्रम हुन्छन् । सरकारले महिला अधिकारका पक्षमा र हिंसाको विरोधमा सन्धी गर्छ, नियम कानुन बनाउँछ ।

तर अधिकार र न्याय पाउने बेलामा महिलाले आफ्नो न्यायको लागि मुख छोपेर टेलिभिजनको पर्दामा जानु परेको छ । यता तिनै महिलाहरुको अधिकारको विषयमा नारी दिवसको दिन शहरका तारे होटेलमा गोष्ठी र विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । त्यही दिन कैलालीकी उषा चौधरीले बोक्सीको आरोपमा निर्घात रूपमा पिटाइ र अमानवीय व्यवहार भोग्नुपर्छ । 

यतिमात्र होइन महिला दिवसकै दिन त्यहि तारे होटेलमा पनि केही विदेशी चेली बलात्कारको शिकार भइरहेका हुन्छन् । यी त केवल उदाहरण मात्र हुन् । यहाँ उषा र विदेशी महिला जस्ता कयौँ महिला पीडित छन्, जसले समाजबाट दिनहुँ अमानवीय व्यवहार पाइरहेका छन् । 

अझ परम्पराको नाममा बोक्सी प्रथा, छाउपडि प्रथा, कुमारी प्रथा आदि कुरिती आजको दिनसम्म पनि हुनु कतिसम्मको न्याय हो रु सतीले सरापेको देश भनेर कहिँ कतै सुनेको थिएँ मैले । यी सबै घटनाक्रम हेर्दा साँच्चै हो कि भन्ने भान पर्न थालेको छ । 
महिलाहरुको हक अधिकारको सवालमा आर्थिक कुराले निकै महत्व राख्छ । ‘धनीलाई चैन गरिबलाई ऐन’ सायद आजको दिनमा यस्तै भइरहेको छ । गरिब, निमुखा वर्गका महिलाहरु अझ धेरै शोषणको शिकार बनेका छन् । उनीहरुमा झन् ठूलो समस्या छ । एकातिर परम्परागत कुरीतिले उनीहरुलाई उठ्न दिएको छैन, अर्कोतिर आर्थिक कारणले उनीहरु घर बाहिर निस्कन सक्ने अवस्थामा छैनन् । 

निम्न वर्गका महिलाहरु कमाउनका लागि बाहिरी काममा सक्रिय भएपनि उनीहरुले त्यस बाहिरको समाज देखेकै हुँदैनन् । घरका रित्ता भाँडाहरु, छोराछोरीको नांगो आङ अनि आफ्नो भोको पेट र ऋणको ब्याजले महिलाहरुलाई न अधिकारका कुरा सुन्न दिन्छ, न बोल्न नै । 

घरमा श्रीमानसँग, बाहिर ऋण दिने साहुसँग अनि काम गर्ने क्षेत्रमा ठेकेदारसँग दबिएरै दिन बित्छ । यस्तोमा महिलाहरु झन् ठूलो शोषणमा छन्, झन् अन्यायमा परेका छन् ।

‘धन चाहिँदा लक्ष्मी पुजिन्छ, विद्या चाहिँदा सरस्वती’ यहाँ नदेखिने देवी पुज्छन् । तर देखिएका देवीहरुलाई विभेद गर्छन् । नदेखिने देवीहरुलाई शिरमा राख्छन्, देखिएका देवीहरुलाई पैतालामा किन दबाउन खोज्छन् । दबाउने मात्र होइन, आफ्नै छोरी, बहिनीहरुको अस्मीतासँग खेल्न उद्यत् छन् ।

आज आठ महिने बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भइरहेकी छे । जहाँ आफ्नो पितालाई भगवान मानिएको हुन्छ, भगवान सरह उसको मुख हेर्ने गरिन्छ, उसले नै आफ्ना छोरी चेलीहरुलाई बलात्कार गरिरहेको छ । धिक्कार छ त्यस्ता पितालाई, जो भगवानको रुपमा दानव निस्कन्छ । थाहा छैन रजस्वला हुँदा छाउपडीमा राखिएकी चमेलीले भोलिको सुर्य देख्न पाउछे कि पाउँदिन । जङ्गलमा घाँस दाउरा गर्न गएकी सुन्तली दिदी सुरक्षित घर आउछे की आउँदिन ? 

महिला हिंसाको पाप धुरीबाट कराइ सकेको छ । सुदुरपश्चिममा देउकी बनेर, पूर्वी हिमालमा झुमा बनेर जीवन बिताइरहेका चेलीहरुको पनि दिन आउनेछ, अब कानमा रुवा खाँदेर बस्न सकिन्न, हामीले पढेका छौँ, सुनेका छौँ, दुर्गा माताले दुष्ट दैत्यको नाश गरी सज्जन को रक्षा गरेकै हो । 

त्यसैले अब हामी सबै मिलि दुर्गा भवानी को रुप लिइ हिंसालाई अन्त्य गरी हिंसा विरुद्धको अभियानमा अगाडि बढ्नु पर्छ । अपराधीले अपराध गरेवापत सो अपराध को किसिम र प्रकृति अनुसार कानुन को कठघरामा ल्यायर सजायको भगिदार बनाउने कामबाट नै हिंसाको अन्त्य सम्भव हुन्छ । 

विभिन्न हिंसात्मक गतिविधिका कारण अहिले लाखौं महिलाहरुको हृदय फाटेको छ । करोडौं नारीहरुको मन भाँच्चिएको छ । त्यही मन सिलाउन हिंसारुपी दुर्गन्धित झार जिलाउन अनि महिलाहरुको नैसर्गिक हक अधिकारको सुरक्षा गर्दै महिलाहरुलाई सम्माननीय अनि पुजनीय बनाउन आवश्यक पर्ने सबै खालको पुर्वाधारको सुनिश्चित गर्नुपर्छ । नारी र पुरुषलाई एउटै रथका दुई पांग्रा अब बोलीमा मात्र नभई व्यवहारमै सार्थक बनाउनको लागि दुवैलाई समान अवसर, सुरक्षा र सहभागिताको आवश्यकता छ । 

आजै देखि छापा मारौँ होटेल, रेस्टुरेन्ट, कलकारखाना अनि मदिराका भट्टीहरुमा, जहाँ महिलालाई बेचिन्छ, दुव्र्यवहार गरिन्छ । चेलीबेटी बेचबिखनलाई पेशा बनाइ लाखौं नारीको जीवन घर न घाटको बनाउने ठाउँहरुमा नियाल्नुपर्छ । 

अनि नियाल्नुपर्छ ती प्रत्येक अदालतका ढड्डाहरु, जहाँ महिला हिंसाका मुद्दाहरु कतै कुनातिर थन्काइन्छन् । अब आफू पनि होसियार बनौं र राज्यलाई जिम्मेवार बनाऔं । अनि मात्र सम्भव छ, महिला हिंसा निषेधित राष्ट्र ।