Newslaya Home

​सिरहामा सुन तस्करीमा जनप्रतिनिधि, पत्रकार सम्मेलनमा अभियुक्तले खुलासा गरेपछि ...

आइतबार २९, पुष २०७५

सिरहा । सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरियो । तर सो क्रममा सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । 

शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीन जनालाई लुकाएको स्रोतले जनाएको छ । 

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले थप व्यक्तिसमेत पक्राउ परेको जानकारी पछि दिएको थियो । 

सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका हुन् । 

सुरुमा प्रहरीले सुन, ६ वटा मोबाइल र साढे ३४ हजारसहित गाडीचालक मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल खान र मोहम्मद कैयुम राइनलाई सार्वजनिक गरेको थियो । तर, अमिरुल खानले अन्य तीनजना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारोमा परेको थियो ।