Newslaya Home

​बिजुली बेचेर सिक्किम धनी : २० वर्षमै गरिबी ५० बाट १ प्रतिशतमा झर्यो

शनिबार २८, पुष २०७५

सिक्किम । सिक्किममा वितेको २० वर्षमा गरिबी झण्डै शुन्यमा झरेको दावी गरिएको छ । सिक्किमका लोकसभा सांसद पीडी राईका अनुसार गरिबी ५० प्रतिशतबाट १ प्रतिशतको हाराहारीमा झरेको हो ।

उनले आगामी २०२२ भित्र देशमै पहिलोचोटि विश्वस्तरको आधारभूत आय (यूबीआई) नीतिसमेत अपनाउने लक्ष्य राखिएको छ ।

यूबीआई एक यस्तो नीति हो, जसअन्तर्गत देशका नागरिक अथवा कुनै ठाउँ विशेषका नागरिक वा राज्यका नागरिकलाई देशले सोझै धनराशी दिन्छ । गरिबी हटाउन र मानिसहरूको जीवनस्तरलाई बढ़ाउन मुख्यतः यो नीति लागू गर्ने गरिन्छ ।

सांसद राईका अनुसार, यूबीआई नीतिलाई पवन चामलिङको नेतृत्वमा रहेको सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आगामी चुनावमा प्रमुख मुद्दा बनाउनेछ । उनले थपे, ‘यूबीआई नीति लागू गर्ने सिक्किम देशकै पहिलो राज्य बन्नेछ ।’

राईका अनुसार सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको एसडीएफ पार्टी पहिलोपटक सत्तामा आउँदा १९९४ सालमा राज्यमा गरिबी ५० प्रतिशतभन्दा बढ़ी थियो । २००४–०५ मा एसडीएफ सरकारले गरिवी घटाएर ३०.९ प्रतिशतमा झारेको छ ।

सन् २०११–१२ मा राज्यमा गरिबीको प्रतिशत ह्वात्तै घटेर ८.२ प्रतिशत भएको उनले बताएका छन् । ‘बितेको आठ वर्षमा यो प्रतिशत घटेर १.२ प्रतिशत मात्र होला,’ उनले थपे, ‘रोजगारी नहुनेलाई रोजगारी दिइएको छ, त्यसैले राज्यमा अब गरीबी शून्य प्रतिशत हुनेछ ।’

सिक्किमको समृद्धी बिजुलीबाट प्राप्त भएको उनले बताए । अहिले सिक्किममा २ हजार २ सय मेगावाट विद्युत प्राप्त भइरहेको छ । आगामी एक–दुई वर्षमा यो क्षमता बढ़ेर ३ हजार मेगावाट हुने उनको भनाइ छ ।