Newslaya Home

​प्रदेश ४ को रोमान्चक जित : जितका लागि चार रन आवश्यक हुँदा अन्तीम ओभरको अन्तीम बलमा चौका

शनिबार २८, पुष २०७५

इनरुवा । अन्तीम ओभर र अन्तीम ब्याट्सम्यान अनि जितका लागि चार रन आवश्यक । त्यसमाथि पाँच बलसम्म डट बल अनि अन्तीम बल ... चौका ।

शनिबार सुनसरी सदरमुकाम इनरुवामा यस्तै देखियो । अन्तीम ओभरको अन्तिम बलमा प्रदेश ४ का मेखबहादुर सेनले आवश्यक चार रन बटुल्दै टिमलाई एपीएफविरुद्ध महत्वपूर्ण जित दिलाए । मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको शनिबारको खेलमा उनले सनसनीपूर्ण जित दिलाएका हुन् । 

प्रतियोगितामा प्रदेश ४ लाई आवश्यक थियो चार रन । क्रिजमा थिए मेख बहादुर सेन र राजु गुरुङ । अन्तीम ओभर बलिङका लागि आए एपीएफका अनुभवी बलर कमल सिङ ऐरी ।

पाँचौसम्म डट बल फ्यालेका सेनले अन्तीम बलमा भने भएभरको जोखिम मोलेर प्रहार गरे । बलले आवश्यक चार रन बटुल्यो ।

९ जना ब्याट्सम्यान पेविलियन फर्किसकेको अवस्थामा प्रदेश ४ का पुछारका ब्याट्सम्यान मेख बहादुर सेन र राजु गुरुङले नटआउट ११ रन जोडेपछि प्रदेश नम्वर ४ ले विभागिय टोली एपीएफलाई १ विकेटले पराजित गरेको हो ।

एपीएफले दिएको २ सय १६ रनको लक्ष पछ्याएको प्रदेश ४ लाई आफ्नो पहिलो खेलमा जित दिलाउन अनिल गुरुङ र विधान श्रेष्ठले अर्धशतक पुरा गरे । गुरुङ ६४ रन बनाएर आउट भए भने श्रेष्ठले ६१ रनको पारी खेले । मन्जिल न्यौपानेले टिमको खातामा ३१ रन जोडे । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । एपीएफकालागि इसाद अहमदले नटआउट ३० रनको पारी खेले । एपीएफकालागि भुवन कार्कीले ३६ रन बनाए भने अनिल साहले २६ रन जोडे ।  

प्रतियोगिताको म्यान अफ द म्याच विधान श्रेष्ठ घोषित भए । भोलिको खेल प्रदेश १ र प्रदेश ४ बिच हुने छ ।