Newslaya Home

​विराटनगरको सिर्जना फाइनान्स अर्को वर्ष राष्ट्रियस्तरको फाइनान्स बन्ने

शनिबार २८, पुष २०७५

विराटनगर । विराटनगरमा केन्द्रीय कार्यालय रहेको सिर्जना फाइनान्स आगामी वर्ष राष्ट्रियस्तरको फाइनान्स बन्ने भएको छ ।
शनिबार  फाइनान्सको १८ औंं वार्षिक साधारणसभाको अवसरमा यस्तो घोषणा गरिएको हो । 

साधारणसभाले गत आर्थिक वर्षमा १५ प्रतिशत बोनस शेयर र ९ दशमलब ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईले जानकारी दिए ।

सञ्चालक समितिका अध्यक्ष सुयष प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चापागाईले विगत र भावी योजनाहरू बताएका थिए । कार्यक्रममा पूर्वसञ्चालक लीला ढुंगेल, नेरुडेका प्रबन्ध सञ्चालक मणि अज्र्याल, गोविन्दराम कावरा, राजीव मिश्रलगायतले मन्तव्य व्यक्त गरे । 
फाइनान्सले यस वर्ष झापा र इलामलगायत सप्तरी, सुनसरी र मोरङसहित पाँच जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने र २०७६ असारभित्र ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरे बोनस शेयर वितरण गरी २०७६ असोजभित्र राष्ट्रियस्तरको बनाउने निर्णयसमेत गरेको छ ।

सभाले सात सदस्यीय सञ्चालक समितिको संख्या घटाएर पाँच सदस्यीय बनाएको छ भने आगामी चारवर्षे कार्यकालका लागि सञ्चालक समितिमा संस्थापकबाट सुयष प्याकुरेल, सुवास आचार्य र सर्वसाधारणबाट मुकेश राठी, राजीवकुमार मिश्रलाई चयन गरेको छ । स्वतन्त्र सञ्चालकमा डा. प्रमोदकुमार झालाई यसअघि नै सञ्चालक समितिले नियुक्त गरिसकेको छ । 

हाल फाइनानन्सको ४६ करोड ७ लाख ८२ हजार सेयर पूँजी, १ लाख २५ हजार ग्राहक संख्या, ५ अर्ब ४० करोड निक्षेप, ३ अर्व ८५ करोड कर्जा र १९ करोड ३ लाख सञ्चालन मुनाफा रहेको छ ।