Newslaya Home

​सिरहाबाट अवैध सुनसहित तीन जना पक्राउ

शनिबार २८, पुष २०७५

लहान । प्रहरीले अवैध सुनसहित तीन जनालाई सिरहाको घुर्मीबाट पक्राउ गरेको छ ।

अवैध सुनसहित पक्राउ परेका तीन जनालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाले शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १९ छर्रापट्टीका ३५ वर्षीय अमिरुल खान, ४० वर्षीय मो. कयुम र मो. रियाज राइन रहेका छन्। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान २ बजेतिर घुर्मी खोलाबाट तीन जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेका कयुम र अमिरुलको साथबाट ५०–५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी सुन बरामद भएको जनाइएको छ।  

सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङका अनुसार पक्राउ गरिएका तीन जनासहित उनीहरू चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ।