Newslaya Home

यस्तो छ बेलायतमा रहेका नेपाली मिडियाको अवस्था

- किरण टी लिम्बू
शनिबार २८, पुष २०७५

आजको एक्काईसौं शताब्दीमा आम सञ्चार (मिडिया) को महत्व र आवश्यकता तीब्र गतिमा बढी रहेकोछ । सञ्चार बिना आजको युग अगाडी बढ्न प्रायः असम्भव छ । संसारलाई क्षणभरमा सुचना सञ्चार सम्प्रेष्ण गर्ने माध्यम नै आम सञ्चार (मास मिडिया) हो ।

यिनै सञ्चारलाई सम्प्रेषण या सुचना प्रवाह गर्न मुख्यतयाः तीनवटा माध्यमहरु हामी प्रयोग गर्छौं । खबर पत्र पत्रिका, वायुको तरंगद्वारा आकाशवाणी वा रेडियो र विधुतीय माध्यमबाट प्रचार प्रसार जस्तैः टेलिभिजन, इन्टरनेटबाट युट्युब, अनलाईन खबर, अनलाईन टेलिभिजन ।

वर्तमान अवस्थामा हामी नेपालीहरु संसारको बिभिन्न देशमा बसोबासरत छौँ । सञ्चार माध्यमको सुविधाबाट प्रवासको भौगोलिक दुरीले टाढा भए पनि स्वदेशमा भएका आफन्तजन र साथी संगीहरुसंग विल्कुल नजिक छौँ ।

संसारका सबै देशमा मिडिया छन् । कुन अवस्थामा छन्, त्यो चाहिँ ठाउँअनुसार फरक फरक छन् । यो आलेख बेलायतको वर्तमान नेपाली मिडियाको बारेमा संक्षिप्त जानकारीको लागि केन्द्रित रहेकोछ ।

बेलायतमा नेपाली मिडिया यहाँका नेपाली समुदायमा दिन प्रति दिन बढ्दै छन् । साथै यसको महत्व पनि उत्तिकै बढ्दो छ । बेलायतमा हाल बिभिन्न पेशामा रहेका नेपालीको संख्या लगभग एक लाख पचास हजारको हाराहारीमा छ, यसमा बृटिश सेनामा कार्यरत गोर्खा सेना, सेवा निवृत गोर्खालीहरु र गैर सैनिक नेपालीहरु पर्दछन् ।

नेपाली समुदायलाई यहाँका स्थानिय मुलधारको मेडियाले र नेपालका मुलधारका  मिडियाहरुले समेट्न नसकेको अवस्थामा स्थानिय नेपाली मेडियाको अहम भूमिका छ । उनीहरुको लागि सञ्चारका माध्यमहरुमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन खबर र अन्यमा इन्टरनेट प्रदायक रेडियो र फेसबुक लाईभ पर्दछन् ।

आम सञ्चार माध्यमहरुमध्ये मनोरन्जनको लागि एउटा नेपाली कार्यक्रम प्रसारण गर्ने नेपाल टेलिभिजन, स्थानिय रेडियोहरुमा बिबिसी नेपाली सेवाअन्तर्गत जो लण्डन शहरको बिबिसी च्यानलबाट प्रसारण हुन्छ ।

गोर्खाली सेनाहरुको लागि बृटिश फोर्स ब्रोडकास्टिङ् सर्भिस (बीएफबीएस) आकाशवाणी रेडियो, र ब्रिगेड अफ गोर्खाज वेल्फेयर सर्भिस (बीजीडब्लुएस) कम्यूनिटी अनलाईन रेडियो, (ओएनसीडब्लु) अनलाईन रेडियो छन् ।

स्थानिय पत्रपत्रिकाहरुमा : दैनिक पत्रिका प्रकाशन नभए तापनि एभरेस्ट टाईम्स साप्ताहिक पत्रिका र पाक्षिक नेपाली पत्रिका छन् । अनलाईन  खबरहरुमा : नेपाल ब्रिटेन डटकम, वीनेपाली डटकम, लण्डन नेपाल न्युज डटकम, शितलपाटी डटकम संचालित छन् ।

त्यस्तैगरि युट्युबमार्फत् चलेका श्रव्य दृश्य च्यानलहरु : गोर्खा च्यानल, एभरेस्ट च्यानल, बिबिएम वर्ल्ड च्यानल, गोर्खा रेडियो र एभरेस्ट रेडियो छन् । यहाँका प्रायः मेडियाहरु कम्पनी हाउसमा दर्ता भएर चलेकाछन् भने कतिपय मेडियाहरु बिना दर्ता पनि चलेकाछन् ।  रेडियो र टिभीलाई अफ़कमले अनुगमन गर्छ भने अरु मेडियालाई त्यस्तो अनुगमन गर्ने संयन्त्र छैन ।

जति पनि नेपाली मिडियाहरु यहाँका नेपाली समुदायभित्र राम्ररी चलेकाछ्, विशेषगरी नेपालको वर्तमान समाचार, बिभिन्न नेपाली समुदायका चाडपर्वका गतिविधि समेटिएका समाचार साथै बेलायतका स्थानीय र केन्द्रिय सकारका नीतिहरु जसले प्रत्यक्षरुपमा यहाँका स्थानीय नेपालीहरुलाई असर पार्छ, त्यस्ता विषय वस्तुहरु समावेश हुन्छन् ।

यहाँका धेरैजसो मिडियाहरु सेवामूलक रुपमा सेवा गरिरहेका छन् । उनीहरु आर्थिक उपार्जन गर्ने अवस्थामा छैनन् । तथापि केहि मिडियाहरू गैर नाफामूलक भने होइनन् ।

यहाँबाट प्रकाशित हुने खबर पत्रिका या अनलाईन पत्रिकाहरुका पाठकवर्गहरु अधिकतर यहाँका स्थानिय पाठकवर्ग हुन् भने बेलायतबाहिर पनि यसका पाठकहरु छन् ।

बेलायतमा भएका नेपाली समुदायका गतिविधि र अन्य समाचारहरु अनलाईन अप्लिकेसनबाट रेडियोमा सुन्न र टिभीमा हेर्न सक्ने सुविधा उपलब्ध छन् । मिडियालाई पाठक, श्रोता र दर्शक सम्म पुर्याउन यहाँका पत्रकारिता क्षेत्रका नेपाल पत्रकार संघ बेलायत साखा, सङ्गीत क्षेत्रका गीतकार, संगीतकार,गायक गायिका,  कलाकार क्षेत्रका कलाकार र साहित्य क्षेत्रका साहित्यकारहरुको ठुलो योगदान रहेकोछ ।

मिडियाको अतिरिक्त यहाँ नेपाली भाषाका साहित्य संस्थाहरुमध्ये विश्व नेपाली साहित्य महासंघ, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत, अन्तराष्ट्रिय नेपाली वाङ्गमय प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र विश्व  नेपाली भाषा परिषद छन् ।  जसको फलस्वरूप बेलायतबाट धेरै राम्रा साहित्यकारहरुको कृतिहरु प्रकाशन भएर नेपाली भाषा साहित्यको पनि उत्तिकै श्रीवृद्धि भई रहेकोछ ।

यसरी बेलायतका नेपाली समुदाय माझ नेपाली मिडियाले ठुलो सेवा सुविधा दिईरहेको अवस्था रहेकोछ ।

(लिम्बु नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व कार्यसमिति सदस्य हुन् ।)