Newslaya Home

उपचार नपाएर किरा परेका बिरामीलाई नोबेलको निशुल्क उपचार (भिडियोसहित)

शुक्रबार २७, पुष २०७५

विराटनगर । नोबेल अस्पताल विराटनगरले उपचार गराउन नसेकर विगत चार वर्ष देखि घरमै किरा परेर बसेका व्यक्तिको उपचार गरेको छ  । 
 
आर्थिक अभावका कारण किरा परेर उपचार गराउन नसकि घरमै थलिएका मिक्लाजुङ गाउँपालिका–१ मा बस्ने ४० वर्षीय बलबहादुर राईको उपचार गरिएको हो । उनको उपचारको लािग कांग्रेस नेता डकबहादुर लिम्बुले उपचारका लागि लगेका थिए । लिम्बुलाई राईको उपचारको लागि एम्बुलेन्स लिएर त्यहाँ पुगेको देख्दा अन्य सबै मानिस अचम्ममा परेका थिए । 
 
नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बु र नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको सहकार्यमा मिक्लाजुङ गाउँपालिका–१ कटहरेका ४० बर्षीय राईको उपचार गरिएको हो । आर्थिक अभावका कारण उपचार गर्न नसकेर भाचिएको खुट्टामा किरा परी तड्पिरहेको थाहा पाएर उनलाई निःशुल्क उपचारको व्यवस्था मिलाईएको कांग्रेस सभापति लिम्बुले बताए । 
 
०७२ सालमा मौरीको घार बनाउन रुख काट्ने क्रममा लडेर किच्दा राईको खुट्टा भाचिएर छियाछिया भएको थियो । अत्यन्तै न्यून आर्थिक अवस्थाको राई परिवारले उनको उपचारका लागि जायजेथाले भ्याएसम्म खर्च गरे । भएको सम्पत्ती पनि उपचारकै क्रममा सकियो । तरपनि उनको खुट्टा ठिक नभएपछि उनीहरुको केहि उपाय लागेन । थप उपचार गर्ने पैसा नभएकै कारण उनी भाचिएको खुट्टा ठिक नभई त्यसै घरमा थलिएर बस्नुको विकल्प भएन । उपचार नपाएपछि भाचिएको खुट्टाको घाउ बढ्दै गएर किरा पर्न थाल्यो ।
 
बलबहादुरलाई नोबेल अस्पतालमा सवै कुरा निःशुल्क गरेर उपचार गरिने अस्पताल सञ्चालक डा.शर्माले बताए । ‘बिरामीको यस्तो कारुणिक अवस्था देखेर म भावुक भए ।’ डा.शर्माले भने ‘औषधि, उपचारसहित बिरामी र कुरुवालाई खानाको ब्यवस्था पनि हामी आफै मिलाईदिन्छौ ।’ डा.शर्माले उनी जस्ता सयौं बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँदै आएका छन् ।