Newslaya Home

​सिनेमा हलमा समयमै पुग्ने, साहित्यिक कार्यक्रममा चाहिँ किन लापरवाही ?

– सुविद गुरागाईँ
शुक्रबार २७, पुष २०७५

साहित्य र सङ्गीतको मर्म जति गहिरो छ, त्यति गम्भीरता दर्शक र श्रोतामा भएको देखिँदैन । यसका लागि आयोजकको कमजोरी, सर्जकको प्रस्तुतिमा हुने फितलोपन जिम्मेबार होला तर दर्शकरश्रोताको व्यवहार त्योभन्दा कमजोर देखिन्छ । 

साहित्यिकरसाङ्गीतिक कार्यक्रमका आयोजक तथा दर्शक र श्रोताको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा त्यसो हुन नसकेको र त्यसले कार्यक्रम आयोजनाको भावनामा ठेसपुग्ने गरेको अनुभूत गरी यो गुनासोपत्र तयार गरेको छु । 

हामी साङ्गीतिक र साहित्यिक कार्यक्रम तथा छायाङ्कनस्थलमा आयोजक तथा दर्शकरश्रोताबाट बारम्बार हुने गरेका ‘उत्कृष्ट’ २० भुलहरू –

१. समयमा कार्यक्रम सुरु नहुनु र नगर्नु ।

२. बोलाइएको समयभन्दा १० मिनेट अगाडि कार्यक्रमस्थलमा पुग्ने गरी आफ्नो समय व्यवस्थापन नगर्नु ।

३. सकेसम्म धेरैलाई पायक पर्ने समयमा कार्यक्रम आयोजना नगर्नु ।

४. हामी यतिबेला कुन कार्यक्रममा छौँ र हामी त्यहाँ हुनुको गरिमा के छ र त्यसबारेमा खासै ध्यान नदिनु ।

५. आफूसँग नबोलाइएका मान्छे, खास गरेर केटाकेटीहरूलाई कार्यक्रमस्थलमा कार्यक्रम अवधिभर अपनाउनुपर्ने सावधानीका बारेमा राम्ररी प्रशिक्षित नगरी साथमा लिएर जानु ।

६. मोबाइल साइलेन्ट मोडमा राख्नु ध्यान नदिनु । राख्न नजान्नु ।

७. मोबाइलमा फोन आए ‘अँ, म एउटा विशेष कार्यक्रममा छु कि पछि फोन गर्छु,’ भन्दै क्यामेराले सुन्नेगरी कुरा गर्नु । साइलेन्ट मोडमा एसएमएसबाट पनि काम चलाउन सकिन्छ भन्ने हेक्का नहुनु ।

८. कसले, कताबाट, कुन एङ्गलमा क्यामेरा चलाइरहेको छ, त्यसको हेक्का नगरी क्यामेराको आँखामा आफ्नो टाउको, ढाड, हात, अनुहार देखापार्दै हिँड्नु ।

९.जथाभावी, आफू पनि सञ्चारकर्मी भए जसरी र अरूलाई अवरोध हुनेगरी फोटो खिच्नु ।

१०. मिलाएर राखिएको कुर्सीमा थपक्क नबस्नु । यताउति सारेर वा पङ्क्ति बिगारेर बस्नु ।


११. नबोल्दा पनि हुने, हात, आँखाको इशाराले काम चलाउन सकिने ठाउँमा फ्याट्ट बोल्नु ।

१२. कारणवश ढिलो आएमा प्रवेश गर्दागर्दै नमस्कार, अभिवादन गर्नु । केन्द्रीय प्रशारण भइरहेकोतिरबाट ध्यान विकेन्द्रित गरिदिनु वा आफूतिर केन्द्रित गर्ने प्रयास गर्नु ।

१३. कार्यक्रम वा प्रस्तुति झुर वा अल्छी लाग्दो भयो र लाग्यो भने लुसुक्क बाहिर ननिस्केर छेउमा बसेको मान्छेसँग कोट्याई–कोट्याई कुरा गर्नु ।

१४. कार्यक्रम बिचैमा छोडेर हिँड्नुपर्यो भने सरक्क निस्केर जान नजान्नु । 

१५. आफ्नो व्यवहारले अरूलाई पो केही असर पारिरहेको छ कि भनी हेक्का नराख्नु । 

१६. फुटेजका लागि दर्शकतिर क्यामेरा घुमाउँदा आनन्दले बसेर सङ्गीतिक÷साहित्यिक रसास्वादन गरिरहेको दृश्य कमै देखिनु ।

१७. कार्यक्रममा ब्यानर÷फ्ल्याक्स कास्टिङ आदिमा प्रयोग गरिएका नेपाली शब्दहरूको हिज्जे लेखाइमा खासै ध्यान नदिनु ।

१८. कार्यक्रमको गरिमा बुझेर होइन, फलानोले बोलाइहाल्यो, गएन भने पछि रिसाउँछ भन्ने भावले कार्यक्रमस्थलमा गइदिए जस्तो गर्नु ।

१९. शान्त र गम्भीर दर्शक र श्रोता कार्यक्रमका शोभा हुन् भन्नेतिर खासै ध्यान नहुनु । मञ्च वा दर्शक–दीर्घामा छेउमा बसेका अतिथिहरू वषौँ पुराना मित्र आजै बल्ल–बल्ल भेटिए जस्तो गरी वार्तालाप गर्नु ।

२०. अतिथि आसन ग्रहण, स्वागत–सम्मान र परिचय गराउने नाममा महत्त्वपूर्ण समय खेर फाल्नु ।

२१. कसैले यस्तो व्यावहारिक कुरा गर्यो भने ‘ए यसले त मलाई यति पनि नजानेको मान्छे ठान्यो, हेप्यो,’ भन्ने प्रकारले रिसाउनु ।


सिनेमा हल, थिएटर हलमा पस्दा हामी जो कोही पनि उल्लिखित कुराहरूमा सकेसम्म ध्यान दिइरहेका हुन्छौँ । तर, साहित्यकरसाङ्गीतिक कार्यक्रमस्थलमा आउँदा चाहिँ किन हुस्सु हुन्छौँ ?

हेक्का राखौँ – अचेल धेरै ठाउँमा तपाई–हामीलाई सिसि क्यामेराले हेरिरहेको हुन्छ । अन्य क्यामेराहरूले खिचिरहेको हुनसक्छ । टेलिभिजनका कार्यक्रम प्रस्तोता वा प्राङ्क भिडियो बनाउनेहरूले हामीलाई पर्खिरहेका हुन सक्छन् । ती फुटेजहरू मिडिया वा सामाजिक सञ्जालका माध्यमबाट संसारभर पुगिरहेका हुन्छन् । हाम्रो बेहोरा जे छ त्यो हामीसँगै छ । सार्वजनिक ठाउँमा अनपेक्षित प्रदर्शन गरेर हाँसोको पात्र किन हुने ? भन्छन् नि चिन्नू नचिनाउनू ।

(गुरागाईँको फेसबुक वालबाट)