Newslaya Home

​‘तिम्रो प्रकृति’ (कविता)

बिहीबार २६, पुष २०७५

फुलहरु उनेर माला बनेझैं
अक्षरहरु उनेर तिमी बनिन्छौ,
बन्न पुग्छौ,
सधैं गलामा शोभायमान हुने
मालामा भएका फुलहरु
केही समयमा सुकेपनि
तिमी कहिल्यै सुक्दैनौ,
जन जनमा,मन मनमा
बॉसुरीको मधुर धुनझैं 
सुनिईरहन्छौ ।

तिमी जहॉ पनि पुग्छौ
कुनै सीमाले रोकिन्नौ,
कुनै बन्धनले छेकिन्नौ
निर्मल हृदयमा बास गर्छौ
फगत कल्पनाको
 पटरीमा दगुर्छौ,
आदिकवि देखि महाकविसम्म
यस्तै अनेकन् पगरीका 
सामु नतमस्तक हुन्छौ।।

विशालकाय ब्रम्हाण्डबाट पनि
तिमी खोजिन्छौ,
लय,छन्द र हिज्जेका धागोमा 
सिलसीलावद्द तिमी उनिन्छौ,
अनी,
नामांकरण हुन्छौ कविता भनेर
विविध भाव र अर्थ बोकेर।