Newslaya Home

​स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा कोशी अञ्चल अस्पताल निरिक्षण

बिहीबार २६, पुष २०७५

विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालका चिकित्सकहरुले दक्ष जनशक्ति र उपकरणको अभावले गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन् । 

बुधबार कोशी अञ्चल अस्पतालको अनुगमनपछि भएको छलफल कार्यक्रममा चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव समक्ष यस्तो गुनासो गरेका हुन् । 

अस्पतालका निमित्त मेसु डाक्टर लक्ष्मीनारायण यादवले अस्पतालमा विद्यमान भेन्टीलेटर मेशिन दुई थान रहे पनि संचालनका लागि अक्सिजन प्लान्ट र वितरण प्रणाली नभएको गुनासो गरे । यस्तै अस्पतालमा क्याथल्याब, ल्याबलगायतका उपकरणहरु नरहेकाले सेवा प्रवाहमा समस्या भएको उनले बताए ।

यस्तै मेडिसिन विभागका डाक्टर दीपक सिग्देलले ६ वटा मात्र आइसियु बेड रहेकाले  बिरामीलाई अन्यत्र रेफर गर्न बाध्य भएको गुनासो गरे । अस्पतालका मेट्रोन मन्जु यादवले बिरामीको अनुपातमा नर्सिङ कर्मचारी अत्यन्तै कम भएको गुनासो गरिन् ।

यस्तै नाक, कान, घाँटी विभागका अनिता जिसी, दन्त विभागका सुधीर श्रेष्ठ, अर्थाे विभागका यज्ञराज खरेल, सर्जिकल विभागका सुनिल अधिकारी, प्रसुती विभागका संगीता मिश्रलगायतका विभागीय प्रमुखहरुले आ–आफ्ना विभागका समस्या अवगत गराएका थिए । 

कार्यक्रममा मन्त्री यादवले अस्पताललाई प्रदेश १ को सबै प्रकारको सेवा दिने अस्पताल बनाउने निर्णय गरिसकेको बताए । त्यसका लागि जग्गाको खोजी भैरहेको उनले बताए ।

यस्तै उनले अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि स्पष्ट पारे । मन्त्री यादवले अस्पतालका समस्या लिखित रुपमा मन्त्रालयमा पठाउन आग्रहसमेत गरे ।