​पर्यटकीय स्थलमा नेटवर्क नहुँदा पर्यटकलाई सास्ती

Newslaya Home

​पर्यटकीय स्थलमा नेटवर्क नहुँदा पर्यटकलाई सास्ती

बिहीबार २६, पुष २०७५

तेह्रथुम । मुलुकभर सञ्चार क्षेत्रको तीव्र विस्तार भइरहँदासमेत तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगलस्थल गुफाबजारमा भने नेटवर्कको पहुँच पुगेको छैन । 

पर्यटकीय क्षेत्रको रुपमा परिचित गुफाबजारमा मोबाइल फोनको नेटवर्क नटिप्दा स्थानीय र पर्यटक सास्ती बेहोर्न बाध्य छन् ।  

गुफाबजारलाई लक्षित गरि कुनै नेटवर्ट प्रदायक कम्पनीले टावर निर्माण नगरेपछि चैनपुर नगरपालिकाको सुकेबजार, गुफाबजार लगायतका क्षेत्रमा स्थानीय टेलिफोन सेवाबाट बन्चित छन् । 

बजारवासी सबैको हातहातमा मोबाइल भएपनि आफन्तसँग फोन गरेर कुरा गर्न सकिने अवस्था छैन । यहाँ घुम्न आइपुगेका पर्यटकहरुले आफ्नो घर परिवार तथा आफन्तसंँग सम्पर्कविहीन हुनुपरेको आन्तरिक पर्यटक अर्जुन पुरीले बताए ।

शेर्पा समुदायको बाहुल्य रहेको यो बजारमा केही अप्रिय घटना भएमा तुरुन्त कतै खबर गर्न सकिने अवस्था छैन । फोन नै गर्नुपर्ने काम पर्यो भने सबै काम छाडेर अग्लो डाँडा पुग्ने पर्ने यहाँको बाध्यता बनेको छ । 

कोही मरिमराउ हुँदा पनि बर्खान्त सकिएपछि मात्र थाहा हुने गर्छ । करिब ५० वर्षअघि स्थापना भएको यो बजारमा मोवाईल सेवाका लागि सम्बन्धीत निकायमा पटकपटक टावर स्थापनाका लागी अनुरोध गरे पनि कुनै सुनुवाई नभएको स्थानीय मन्जु खनालको भनाइ छ ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालयले बिभिन्न ठाउँमा नेटवर्कको क्षमता बढाउने र विस्तारको कार्य गरे पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र र दुर्गम स्थानमा खासै महत्व नदिएको गुफाबजारबासीको गुनासो छ । 

सञ्चार क्षेत्रको तीव्र विकास भइरहेको अवस्थामा पर्यटकीय क्षेत्रमै मोबाइलको नेटवर्क नहुनु दुःखद कुरा हो । यसर्थ यस्ता पर्यटकीय क्षेत्रमा भरपर्दो सञ्चार सुविधा पु¥याउनेतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।