Newslaya Home

​वेदलाई साक्षी राखेर अमेरिकामा ह्यारी भण्डारीले लिए सपथ, भने, ‘मलाई हिन्दू हुनुमा गर्व छ’

बिहीबार २६, पुष २०७५

न्युयोर्क । अमेरिकाकै इतिहासमा हाउस अफ डेलिगेटमा विजयी पहिलो नेपाली अमेरिकनको कीर्तिमान बनाएका ह्यारी भण्डारीले वेद छोएर सपथ लिएका छन् ।

मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटका रूपमा राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह सपथ लिएका हुन् ।

भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर सपथ खाएर अर्को इतिहास पनि बनाए।

उनले सपथपछि भने,  ‘यो हाम्रो कर्मभूमी अमेरिकाको मूलधारको राजनीतिमा हाम्रो उपस्थितिको मिर्मिरे बिहानी हो । ‘म त निमित्त मात्र हुँ । म यसको श्रेय मेरो जन्मभूमी र कर्मभूमीसँग साइनो गाँसिएका र यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैमा सरोबरी बाँढ्न चाहन्छु ।’

उनले आफू हिन्दू धर्मवलम्वी भएकोमा गर्व रहेको बताए । भने, ‘यो मेरो आस्था र विश्वासको कुरा हो। अमेरिका धर्मनिरपेक्ष राष्ट्र भएकाले यहाँ सबैलाई यो छुट छ । म अरू सबै धर्मको सम्मान गर्छु र मेरो धर्मलाई माया गर्छु । यो त्यसैको प्रतीक हो ।’