धुलोका कारण पकलीवासी हैरान, नियन्त्रण गर्न माग गर्दै आन्दोलित

Newslaya Home

धुलोका कारण पकलीवासी हैरान, नियन्त्रण गर्न माग गर्दै आन्दोलित

-​शिशिर ढकाल
बुधबार २५, पुष २०७५

इटहरी । कुनै ठाउँको विकास हुनु नराम्रो भने पक्कै होइन । तर विकास निर्माणका क्रममा पनि समस्या समाधानको विकल्प हुँदाहुँदै त्यसलाई नअपनाउनु भने नराम्रो कुरा हो । जसको वेवास्ताले अहिले सर्वसाधारणहरु मारमा पर्ने गरेका छन् । 

त्यस्तै अहिले इटहरी–१७ का स्थानीयहरु सोहि समस्याको मारमा परेका छन् । सुनसरीको कान्छिचोक देखि चतरा सडक निर्माणाधिन अवस्थामा रहेको छ । बाटो बनाउने काम भइरहेको छ । तर सो क्रममा सडकबाट अत्याधिक धुलो उडेका कारण स्थानीय जनजिवनलाई निकै प्रभाव पारेको छ ।

धुलोका कारण स्थानियहरुमा खोकी, दमजस्ता स्वास्थ्य समस्या देखिएको छ । मानिसहरु दिउँसोको समयमा घरबाहिर निस्कन नसक्ने अवस्थामा छन् । ‘धुलो उडेर आँखै हेर्न हुँदैन,’ स्थानियले भने, ‘छोराछोरीलाई खोकी, रुघाले सताइरहन्छ ।’

धुलोलाई ठेकेदार कम्पनीले वास्ता नगर्दा स्थानीयलाई निकै समस्या पनि भएको छ । उक्त धुलोकै खाना खानमा समेत समस्या भएको भन्दै स्थानीहरुले केही दिनअघि सडक पनि अवरोध गरेका छन् । अघिल्लो वर्षहरुमा पनि यो क्रम जारी थियो । 

 ‘हामिले बाटोको यो समस्या लिएर नगरपालिका, सिडियो कार्यालय लगायतका सम्बन्धित निकाय सम्म पुग्यौँ, बाटो निर्माण गर्ने पक्षलाई पानी हाल्नका लागि बारम्बार अनुरोध गरिरहेका छौँ,’ स्थानीय गंगाबहादुर निरौलाले भने, ‘तर हाम्रो समस्यालाई कसैले पनि वास्ता नगरेपछि हामि बाटो अवरोध गर्न बाध्य छौँ ।’ 

त्यसो त पानी हाल्नको लागि ट्यांकर नआउने भने होइन । तर ट्यांकरले बिचको केहि भागमा पानी नहाली जाने गरेको छ । यस्तै अन्य भागमा पनि पानी बेलुकी पख मात्र हाल्ने गरेको स्थानीयको गुनासो रहेको । 

स्थानियको विरोधका कारण अवरुद्ध सडक खुलाउन प्रहरी नै आउनु परेको थियो । पछि प्रहरीले ठेकेदार कम्पनीलाई फोन वार्ता गरि समन्वय गरेपछि बाटो खुलाईएको थियो ।