Newslaya Home

यस्तो हो, सार्वजनिक जग्गा मिचेको आरोप लागेको बहुउद्देश्यीय सहकारी भवनको वास्तविकता

- शालिग्राम पाण्डे
बुधबार २५, पुष २०७५

पत्रकारिता भनेको समाजलाई सही सुचना दिने कार्य हो । पत्रकारले लेखेको समाचारले समाजमा सकारात्मक सन्देश जानुपर्छ । समाचारले समग्र समाजको हित गर्न सक्नुपर्छ । 

समाचार लेख्दा गल्ती र सही छुट्याउन सक्ने क्षमता पनि हुनुपर्छ । कहिलेकाहीँ कुनै व्यक्तिहरुले पत्रकार तथा संचार माध्यमलाई प्रयोग गर्ने गर्दछन् । पत्रकार तथा संचार माध्यमले प्रयोग हुनबाट बच्न सक्नुपर्छ । पत्रकारलाई प्रयोग गरेका धेरै उदाहरणहरु छन् ।

पत्रकारिताको तालिममा पनि ए.बी.सी.को सिद्धान्त अपनाउनु पर्छ भन्ने मान्यता रहेको छ । हामी पत्रकारले पत्रकारिताको सिद्धान्तलाई कत्तिको अबलम्बन गरेका छौं त ? एक पटक आफुलाई आफैले जाँच गर्नुपर्ने भएको छ । जसका बारेमा समाचार लेखिएको छ, सम्बन्धितको भनाई राख्न दिइनुपर्छ । खोज अनुसन्धान गरेर गहीराइमा पुगेर समाचार आएमा पत्रकारीता गर्नेको इज्जत र सम्मान बढ्ने थियो ।

त्यसका बाबजुद हामीले लेखिरहेको समाचारले आम जनतालाई हानी हुँदैछ वा फाइदा भएको छ त्यसतर्फ ध्यान जानुपर्छ । 
तर आज भोली पत्रकारितामा फरक सिद्धान्त आएको छ की जस्तो भान हुन्छ । कतिपय अवस्थामा विज्ञापनलाई समाचार बनाई रहेकाछौँ । अनि सतही विश्लेषण गरेर सनसनी मच्चाउने नाममा मनगढन्ते विषय लेखिरहेका छौं । जथाभावी कलम चलाउँदा संचार माध्यमको विश्वसनियता त घट्छ नै, कहिले काहीँ चोरलाई चौतारी, साधुलाई सुली भन्ने भनाई चरितार्थ हुन जान्छ । 

यो प्रसंग उठान गर्न किन आवश्यक महसुस भयो भने इटहरी उपमहानगरपालिका अगाडीको बहुउद्देश्य सहकारी संस्था लि. इटहरीको भवनका बारेमा केही संचार माध्यमले समाचार लेखेकोमा कसैले पत्रकारलाई प्रयोग गरेको भान भएको छ । 

इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी उपमहानगरपालिका भित्र पर्ने सार्वजनिक जग्गाको खोजी गरिरहेको समयमा एक्कासी मेयरलाई च्यालेन्ज दिदै उपमहानगर पालिका अगाडीको बहुउद्देश्यीय भवनको नक्सा पासको विषय उचालेर मेयर चौधरीको कामलाई ओझेलमा पार्ने प्रयास गरेको देखिन्छ । सार्वजनिक जग्गा तथा बाटो, खोला, पैनी, मठ मन्दीर मिचेर घर बनाउनेहरुले आप्mनो कर्तुत लुकाउन संचार माध्यमलाई बहुउद्देश्यीय सहकारी तीर मोडि दिएको अनुमान गरेको छु । म चाहन्छु यो असत्य होस् । तर शंका गर्ने ठाउँ प्रशस्तै छन् ।

किनकी बहुउद्देश्यीय सहकारीको वास्तविकता त्यो होइन । बहुउद्देश्यीय सहकारीलाई अहिले पनि धेरै मानिसहरुले साझा भनेर चिन्ने गर्दछन् । साझा(हालको बहुउद्दृश्यीय सहकारी)ले ५० वर्ष अघिदेखि किसानहरुलाई उन्नत जातको बीउ र गुणस्तरीय मल सरल मुल्यमा उपलब्ध गराउँदै आएको थियो ।

यो बहुउद्देश्यीय सहकारीमा विगतमा सिरहा, सप्तरी, झापा, धनकुटा, भोजपुरदेखि मल बिउ खरिद गर्न किसानहरु आउने गर्दथे । हाल पनि मल विउ अभाव हुँदा बहुउद्देश्यीमा झापा, सुनसरी र मोरंगका किसानहरु मल वीउ खरिद गर्न यहाँ आउने गर्दछन् । 

किसानको हितमा काम गरेकोले त्यसलाई प्रोत्साहित गर्न तथा मल बिउ, कृषि उपकरणहरु आदी बिक्रि वितरण गर्ने कार्यले निरन्तरता पाओस् भनेर बहुउद्देश्यीय सहकारीलाई साझाले उपयोग गरेको जग्गाको अलावा २०५२ सालतिर एक कट्ठा साढे नौ धुर जग्गा तात्कालिन नगरपालिकाकोको बोर्ड बैठकले निर्णय गरेर सर्वध्वज साँवा मेयर रहँदाको समयमा सहकारीलाई दिएको थियो ।

सो भवन निर्माण हुनुअगाडी भत्काईको भवन पंचायत कालमा धरम भकारी रहेको भवन हो  । धरम भकारी संचालन हुन नसके पछि सो भवनमा लामो समय सम्म किसानलाई सहुलियत दरमा मल विउ आदी सामाग्री उपलब्ध गराउने साझा नामको संस्था संचालन भएको थियो ।

बहुउद्देश्यीय सहकारीको अभिलेखअनुसार सहकारीले साझाको पहिचान जोगाउन सहकारी डिभिजन कार्यालयमा बहुउद्देश्यको अगाडी साझा शब्द थप गर्न प्रकृया पनि अगाडी बढाएको भए पनि तत्कालिन सहकारी डभिजन कार्यालयले अस्वीकार गरेकोथियो । 

२०४६ सालपछि राष्ट्रिय सहकारी संघ लि. र सहकारी विभागले नै एक पटक साझाहरुको सम्पत्ती जग्गा जमिन के कस्तो हालतमा छ भनेर खोजी गर्दा साझाबाट सहकारीमा परिणत भएका धेरै सहकारीहरुको आप्mनो भवन रहेको तर जग्गा सहकारीका नाममा दर्ता नभएको अवस्था देखी सहकारीका नाममा जग्गा दर्ता गर्न सहकारी विभाग र सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी संघ लि. लागिपरेको थियो । सोअनुसार जम्मा एक कट्ठा साढे नौ धुर जग्गा दर्ताको सबै प्रकृया पुरा भए पनि पछि दर्ता हुन सकेन । 

सहकारीका पदाधिकारहरुका अनुसार बहुउद्देश्यीय सहकारीको जग्गा दर्ता प्रकृया मालपोत कार्यालय सुनसरीमा चलि रहेको छ । तात्कालिन जिल्ला विकास समिति सुनसरी,  तात्कालिन सहकारी कार्यालय सुनसरी इनरुवा, जिल्ला सहकारी संघ लि. सुनसरी इनरुवा, सहकारी विभाग आदि सम्बन्धित निकायहरुबाट पत्राचार गरि जग्गाको दर्ताका लागि मालपोत विभागबाटसमेत पत्राचार भइसकेको थियो । 

जग्गा बहुउद्देश्यीय सहकारीका नाममा दर्ता गर्ने अन्तीम अवस्थामा मालपोत कार्यालय सुनसरीका कर्मचारीले घुस नपाएका कारण मालपोत विभागबाट लेखि आएको पत्रसहितको मिसिल कागजात गायब गरिदिए । त्यसयता बहुउद्देश्यीय सहकारीका नाममा जग्गा दर्ता हुन सकेको छैन ।

मालपोतले जग्गा दर्ता नगरि दिएकोमा सर्वोच अदालतमा परमादेशमा रिट दर्ता गर्नुपर्नेमा तत्कालिन पदाधिकारीहरुलाई कानुनी ज्ञान नभएको र कानुन विदसँग सल्लाह लिन नसकेका कारण जग्गा दर्ता हुन नसकेको अवस्था रहेको छ । 

बहुउद्देश्यीय सहकारीको पुरानो गोदाम र २०५२ सालमा तत्कालिन नगरपालिकाले उपलब्ध गराएको जग्गामा रहेको पुरानो भवन भत्काएर नयाँ भवन बनेको हो । पुराना भवनहरु पानी चुहुने र वर्षायाममा डुबान हुने कारणले नयाँ भवन बनेको हो ।

वर्षामा पानी चुहिने, इटहरी बजार डुबानमा पर्दा मल बीउ डुबाउने गरेकाले सहकारीले वर्षेनी लाखौंको क्षति व्यहोर्नु परेको थियो । त्यसैले साधारण सभामा भवन बनाउने माइन्यूट गरेर शेयर थप गरी सो भवन बनेको हो । 

यस पंक्तिकारलाई जानकारी भएअनुसार बहुउद्देश्यीय सहकारीले इटहरी उपमहानगरपालिकामा घरनक्सा पासको लागि निवेदन गरेपनि जग्गा दर्ता नभएका कारण  नक्सा पास गर्न मिलेन । पछि घर निर्माण गर्न कुनै बाधा अबरोध नहुने मौखिक जानकारी पाएकाले घर निर्माण कार्य अगाडी बढेको थियो ।

भवन निर्माण गर्दै जाँदा सहकारीका शेयर सदस्यहरुले इटहरी चोकको भवन भएकाले राम्रो बनाउनु पर्छ पैसाको अभाव भएमा हामी शेयर थप गर्न तयार छौं भनेर भवन निर्माण गर्न हौसला दिनुभएको साथै तत्कालीन कार्यकारी अधिकृत पशुपती खतिवडाले भवनको शिलान्यास गरेर भवन निर्माण गर्न हौसला प्रदान गर्नु भएको आम इटहरीवासीमा जानकारी रहेको छ । 

बहुउद्देश्यीय सहकारी संस्था लि.को पुरानो भवन निर्माण गर्दा सधियारहरुले सुनसरी जिल्ला अदालतमा जग्गा खिचोला मुद्दा दिएका तथा भवन निर्माणमा रोक लगाउन तत्कालिन पुनरावेदन अदालतमा निषेधाज्ञा मुद्दा दिएकामा सो मुद्दा तत्कालिन पुनरावेदन अदालतबाट खारेज भएकोले थियो । सहकारीको अढाइ कट्ठा भन्दा बढी जग्गा रहेकामा विभिन्न संघ संस्था, निकायहरु् तथा व्यक्ती आदीले मिचेका कारण हाल करिव १८ धुर जग्गामा भवन बनेको अवस्था छ । 

संचार माध्यमले सो बहुउद्देश्यीय सहकारीको मिसिल कसले किन के कुन स्वार्थका लागि लागि गायव बनाए त्यस विषयमा खोजमुलक समाचार लेखिदिए सहकारीका हजार भन्दा धेरै शेयर सदस्यहरुलाई राहत मिल्ने थियो ।
 
नक्सा पास नुहुनु प्राविधिक कठीनाई हो, तर तत्कालिन कार्यकारी अधिकृत पशुपति खतिवडाले भवनको शिलान्यास गर्नु भएको छ । यसबाट पनि सहकारीको गतिविधि अवैधानिक नरहेको पुष्टि हुन्छ । 

झन् अहिले सहकारीहरु स्थानिय तहको मातहतमा आइसकेका छन् । 

सहकारीका यी वास्तवीक कुरालाई बाहिर ल्याउन किन सकेको छैन ? आज इटहरीमा  एउटा राम्रो भवन तयार भएको छ । यो सम्पत्तीको संरक्षण गर्ने दायित्व  इटहरीवासीको हो । 

सहकारीले यो भवनलाई बहुउद्देश्यीय प्रयोजनका लागि प्रयोग गर्न सक्छ । भाडामा लगाउनुको साटो गरिब किसानका लागि राहत मिल्ने गरि खाद्यवस्तुको डिपार्टमेण्ट संचालन गर्न सक्छ । 

इटहरी उपमहानगरपालिकाले पनि ५० वर्ष भन्दा अघिदेखि किसानहरुको हितमा काम गर्दै आएको सहकारीका बारेमा अनर्गल कुराहरु आईरहँदा वास्तविकता बुझेर र अध्ययन गरेर पत्रकारहरुको जिज्ञासा मेटाउनु पर्ने हो । त्यो कामपनि हुन सकेको छैन । सहकारीको विषयमा भइरहेका अनर्गल प्रचारले इटहरीका मात्र नभएर आम कृषकहरुको अहित गरिरहेको छ ।
 
बहुउद्देश्यीय सहकारीले आगामी दिनमा आफै उन्नत जातको वीउ उत्पादन गरि कृषकहरुलाई सहुलियत दरमा विक्रि वितरण गर्ने योजना बनाई रहेको कुनै समयमा समाचारमा आएको थियो । त्यस्ता नयाँ नयाँ योजना ल्याएर कृषकहरुको हितमा काम गर्न प्रोत्साहित गरिनु पर्नेमा सरकारी निकायबाट प्राप्त हुन आएको ५० वर्ष अघिदेखि भोग चलन गरिआएको जग्गा र तत्कालिन इटहरी उपमहनगरपालिकाले उपलब्ध गराएको जग्गामा बनेको भवन कसैको आँखाको कसिंगर बन्न हुँदैन ।

आम इटहरी वासीलाई साझा तथा बहुउद्देश्यले गरेका कामकाबारेमा जानकारी हुनु पर्छ । किसानले पाउने सेवा सुविधामा कतै बहुउद्देश्यीय सहकारीबाट गल्ती कमी कमजोरी भएका छन् भने इटहरी उपमहानगरले सचेत गराउनु पर्छ ।

बहुउद्देश्यीय सहकारीका काम हरु आगामी दिनमा कृषिमुखी, गरिवी निवारणमुखी हुनुपर्छ भन्ने सन्देश इटहरी उपमहनगरपालिकाले दिनुपर्छ । नाम मात्रको बहुउद्देश्यीय होइन काममा पनि बहुउद्देश्यीय बनाउनमा इटहरी उपमहानगरपालिका जनप्रतिनिधिहरु र बहुउद्देश्यीय सहकारीका पदाधिकारीहरु विच छलफल हुनु पर्छ । 

कुनै पनि सहकारीका बारेमा समाचार लेख्नु पर्ने विषय वस्तुहरु धेरै छन् । सहकारीले सहकारी मुल्य मान्यता अनुसार काम गरि रहेको छ छैन, सहकारीको सम्पत्ती हिना मिना गरेको वा अन्य कुनै अनियमितता छ की यस्ता कुराहरु खोजी गर्दा राम्रो हुन्छ । 

बरु बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा कुनै अनियमितता भएको छ की भन्ने विषयमा खोजी गर्दा हुन्छ । बरु सहकारीले सहज तरिकाले मलबिउ दिएको छ कि छैन, खोजी गर्दा हुन्छ । यस्ता विषयका समाचारले सहकारीका सबै सदस्यहरुका साथै किसानहरुलाईसमेत फाइदा गर्छ ।

(बहुउद्देश्यीय सहकारीका पदाधिकारीहरु, शेयरसदस्यहरु र ५० वर्ष अघिको धरम भकारी र साझासँग जानकार व्यक्तिहरुसँगको कुराकानीमा आधारीत)