Newslaya Home

​कमजोर कम्पनीले साधारण शेयर बिक्री गर्न नपाउने

बुधबार २५, पुष २०७५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमजोर कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने भएको छ ।

बोर्डले मंगलबार सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको हो ।

नयाँ व्यवस्थाअनुसार साविकका क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेड प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थालाई संशोधन गरी वित्तीय अवस्था कमजोर रहेका सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । 

हाल कमजोर वित्तीय विवरण भएका कम्पनीले पनि धमाधम साधारण शेयर बिक्री गरिरहेका छन् । त्यसबाट लगानीकर्ताको लगानी समेत जोखिममा परेको भन्दै बोर्डले नयाँ व्यवस्था लागू गरेको हो ।

प्रिमियमभन्दा पाँच गुणा नेटवर्थ तोकेर साधारण शेयर तथा थप सार्वजनिक निष्कासन गर्ने प्रवृत्तिलाई नयाँ व्यवस्थाले रोक लगाएको छ । यसैगरी बोर्डले सूचीकृत यसअघि स्थानीय बासिन्दाका लागि धितोपत्र निष्कासनका स्वीकृति पाइसकेका सङ्गठित संस्थाको हकमा साविकको व्यवस्थाअनुसार नै बिक्री गर्न पाउने व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले जानकारी दिए ।