Newslaya Home

डिपोको स्थापना दिवसमा विद्यार्थी र खेलाडि सम्मानित

सोमबार २३, पुष २०७५

धरान । डिपो आदर्श वहुमुखि क्याम्पसले आफ्नो ६५ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरु सहित खेलाडिहरुलाई सम्मान गरेको छ । 

सोमवार आयोजित अभिभावक दिवस तथा स्थापना दिवस कार्यक्रमको अवसरमा विद्यालयमा अध्ययन गरि विभिन्न पेशा तथा तहमा रहेर सेवा गरिरहेका विद्यार्थी र खेलकुदमा विद्यालयको तर्फबाट उत्कृष्ट बनेका खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष श्रवणकुमार लिम्बुले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनोले सम्मान गरेका हुन् । 

विद्यालयमा अध्ययन गरेका ६५ औं ब्याचका डा. सिद्धार्थ राई र ६६ औं ब्याचका डा. भरोसा भट्टराईलाई सम्मान गरिएको हो । डा. सिद्धार्थले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिडिएस तर्फ पुर्वाञ्चल टप गरेका थिए भने डा. भरोसाले प्रतिष्ठानबाटै एमबिबिएस अध्ययन पुरा गरेका थिए । 

त्यसै गरि खेलकुद तर्फ विद्यालयमै उत्कृष्ट एथ्लेट्सको उपाधि सिमरन राई र विसाल उराउलाई घोषणा गर्दै पुरस्कार प्रदान गरेको छ । भर्खरै सम्पन्न धरान खेलकुद विकास समितिको आयोजनामा आयोजित मेयर स्कुल ओलम्पिकमा उत्कृष्ट प्रर्दशनको आधारमा उनिहरुलाई छनौट गरिएको डिपो क्याम्पस प्रमुख राजकुमार राईले जनाए । कक्षा १०मा अध्यनरत सिमरन राईले ४ गोल्डमेडल र विशाल उराउले ३ गोल्ड मेडल जितेका थिए ।

सोहि कार्यक्रममा कक्षा १ देखि १२ कक्षा सम्मका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतीक कार्यक्रम तथा नाटक र कक्षा ३ देखि मुनिका विद्यार्थीहरुले मोर्डन र कल्चरल फेसन सो प्रस्तुत गरेको थिए । 

विद्यार्थीहरुले आफ्नो विभिन्न प्रतिभाहरुको स्टल वनाएरु प्रदर्शनमा राखेका थिए । स्टलको अभिभावकहरु सहित कार्यक्रमका प्रमुख अतिथी सभामुख भण्डारीले अवलोकन गरेका थिए ।