Newslaya Home

​इटहरी सभामुख कप राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि पुलिसले जित्यो

सोमबार २३, पुष २०७५

इटहरी । इटहरीमा जारी दोश्रो सभामुखकप राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनल खेल  नेपाल पुलिस क्लबले जितेको छ । 

सोमबार इटहरी रंगशालामा भएको खेलमा पुलिसले २६–२४, २२–२५, २५–२१ र २५–१७ को नतिजा बनाउँदै आर्मीलाइ  ३–१ को सेटमा पराजित गरेको हो । 

सुनसरी जिल्ला खेलकुद विकास समितीले आयोजनामा भएको प्रतियोगितामा विजेता पुलिस क्लबले नगद ४ लाख रुपैया पुरस्कार पाएको छ । त्यस्तै उपबिजेता भएको आर्मीले नगद २ लाख रुपैया पुरस्कार पाएको छ । 

इटहरी रंगशालामा तेस्रो स्थानको लागि भएको अर्को खेलमा एपीएफले गण्डकी प्रदेशलाई गरेको छ । एपीएफले २५–२२, २५–१६ र २६–२४ को नतिजा बनाएर गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउदै तेश्रो स्थान सुरक्षित गरेको हो । 

यससँगै प्रतियोगितामा तेस्रो भएको एपीएफले एपीएफले नगद १ लाख पुरस्कार पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने नेपाल आर्मीका धनबहादुर भट्ट भएका थिए । उनलाई उत्कृष्ट खेलाडिको पुरस्कार स्वरुप २४ इन्चको एलईडी टिभी प्रदान गरिएको छ । 

यस्तै उत्कृष्ट स्पाइकर पुलिसका कुलबाहादुर थापा, उत्कृष्ट ब्लकर पुलिसकै दिपक जोशी, उत्कृष्ट सेटर पुलिसकै एम बाहादुर मगर भएका थिए भने उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा र उत्कृष्ट क्विकर आर्मीकै भैरव बम भएका थिए । त्यस्तै  उत्कृष्ट प्रशिक्षकको उपाधि भने पुलिसका सरोज श्रेष्ठलाई दिइएको थियो ।

उनीहरु सबैजनालई जनही नगद रु. ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थिायो । विजयी खेलाडीहरुलाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट, बोर्ड सदस्य शम्भु आचार्य, सल्लाहकार शालिगा्रम खड्का, पूर्वाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष रबिन नगरकोटी, एन्फा सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार बितरण गरेका थिए । 

राष्ट्रिय खेलकुद परिषदको संरक्षणमा आयोजना भएको प्रतियोगिताको ब्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल संघ र सहयोगी संस्थाको रुपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल संघ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेका थिए । गत बिहीबार सुरु भएको प्रतियोगितामा तीन बिभागिय टिम सहित ७ वटै प्रदेशका टिमहरु सहित १० टोलीको सहभागीता रहेको थियो ।