Newslaya Home

​बजार व्यवस्थापनमा सरकारको कार्ययोजना: कृषिमन्त्री

सोमबार २३, पुष २०७५

धरान । उत्पादन र बजारलाई व्यवस्थित गर्दै कृषि उपजमा आत्मनिर्भर हुने तर्फ सरकारको कार्ययोजना अघि बढेको कृषि तथा सहकारी मन्त्री चक्रमणी बलदेवले बताएका छन् । 

धरान स्थित कृषि उपज बजार स्थलको सोमबार अनुगमन गर्दै मन्त्री बलदेवले बजारलाई व्यवस्थापन गर्न नसक्दा आयातित कृषि उपजको भरमा बस्नु पर्ने अवश्था रहेको उनको भनाई छ । उनले नयाँ ढंगबाट बजार व्यवस्थापन गर्नुपर्ने बताउँदै चालु वर्षमा बजारका लागि ५० करोड रुपैया विनियोजन गरिएको बताए । उनले भने, ‘पुरानो बजारहरुलाई परिवर्तन गर्नुपर्छ, बजार व्यवस्थापनका लागि नयाँ ढंगबाट जानुपर्छ ।’ 

कृषि उपजमा आत्मनिर्भर हुने गरिको योजनाहरु बन्न नसक्दा अझै पनि बाहिरबाट आयातित कृषि उपजमा निर्भर हुनुपरेको उनले बताए । उनले भने, ‘नेपालमै उत्पादन हुन सक्ने कृषि उपजहरु पनि आयात गर्नु पर्ने अवश्था छ, देशकै लागि दयनिय अवश्था हो । सबै कृषि उपजहरुमा आत्मनिर्भर हुन सक्छौं तर हाम्रो योजना छैन् ।’ अहिलेका बजारहरुको विकल्प पनि सोच्ने र व्यवस्थापन पनि गर्ने तर्फ मन्त्रालयको ध्यान गएको उनले बताए । 

धरान स्थित कृषि उपज बजार स्थलको क्षेत्रफल सानो भए पनि ईन्जिनियरिङलाई प्रभावकारी बनाएर ठुलो बजार संचालन गर्न सुझाव दिएका छन् । उनले प्रदेशमा संचालन भएका साना बजारहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने तयारी भईरहेको बताए । ‘बिर्तामोडमा रहेको कृषिको बजार र विराटनगरको पुरानो हाटलाई प्रदेशले नै संचालन गर्न सक्छ’, उनले भने, ‘त्यसलाई व्यवस्थीत गर्न सानो बजेटले हुँदैन, करिब ७ करोडको लगानीमा बजार व्यवस्थापन गरेर संचालन गर्न आवश्यक रहेको छ ।’ 

कार्यक्रममा कृषि उपज बजार स्थलका अध्यक्ष परशुराम कट्वालले पुर्वी पहाडी जिल्लाका कृषि उत्पादनको प्रमुख बजार भएकाले स्तरोन्नती गर्न आवश्यक रहेको भन्दै सहयोगका लागि आग्रह गरे । स्थलबाट भारतीय बजारहरुमा पुर्वी पहाडी जिल्लाका उत्पादनहरु निर्यात हुने भएकाले बजारमा ग्रेडिङ मेशिन, विषादी मापन यन्त्र, शित भण्डार लगायतका भौतिक संरचनाका लागि सहयोगका लागि आग्रह गरेका छन् । कार्यक्रममा कृषिमन्त्री बलदेव संगै राज्यमन्त्री रामकुमारी चौधरी, सांसद कुसुम श्रेष्ठको उपस्थिती रहेको थियो ।