Newslaya Home

पाँचथर पावर कम्पनीले स्थानियको लागि शेयर निष्काशन गर्दै

आइतबार २२, पुष २०७५

फिदिम । पाँचथर पावर कम्पनीले स्थानिय वासिन्दाको लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । प्रभावित क्षेत्रका लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर निष्काशन गर्ने भएको हो । 

कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना निर्माण गरेको छ । प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जम्मा लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने छ ।

कम्पनीले केयर एनपि आइपिओ ग्रेड ४ प्राप्त गरेको छ । २०७३ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको कम्पनीको दीर्घकालिन ऋण एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ । त्यस्तै गत वर्ष ४ करोड ५१ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनी आर्थिक वर्ष २०७७/७८ देखि नाफामा हुने अनुमान छ ।

प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेका कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।