Newslaya Home

न्यानो खोजिरहेको सडक

सरीता भण्डारी
शनिबार २१, पुष २०७५

सबै बालबालिकाका सम्पन्न, सुखी परिवार र आमाबुबाको छत्रछाँयामा हुर्कन पाउने भाग्य लिएर जन्मेका हुँदैनन् । केहि यस्ता अभागीहरु हुन्छन् जस्लाई परिवार त के आफुलाई जन्मदिने बाबुआमा को हुन् भन्ने समेत थाहा हुँदैन । अनि बाध्य हुन्छन् एउटा वेवारिसे र अभिभावक विहिन सडके जीवन बिताउँछन् । 

कतिपयले चाहिँ घर परिवारबाट माया नपाएर बाध्य भएर सडकको जीवन रोजेका हुन्छन् । बस्दै जाँदा पछि त्यही उनीहरु बानी पर्छन् ।

सडक बालबालिकाहरुको दिनको सुरुवात नै फोहोर फलिएको गल्ली र प्रिय साथी कुकुरहरुको भुकाईबाट सुरु हुन्छ । उनिहरुको जीवनको लक्ष्य नै साह्रै सानो र जटिल छ । त्यो हो आज के खाने, कसरी खाने, के गरेर खाने । अनि चुपचाप उठेर फोहोर टिप्ने बोरा भिरी लाग्छन् सहरका फोहोरी गल्ली तिर ।

उनिहरुको गर्मी महिना त रुखको छहारीमा ओत लागेर भएपनि कट्ने गर्छ तर जाडो महिना भने कट्न एक्दमै गाह्रो हुन्छ । सडक बालबालिकाहरु जाडोमा नर्कको जिवन विताउन बाध्य छन् ।   

तापक्रम शुन्य हुँदा पनि उनिहरुको सरिरमा भने एकसरो पनि राम्रो लुगा छैन् । सबैले देख्दा यो अवस्था दयानिय छ । सबैले देखेर बिचरा भन्छन्, तर, मौन छन् । सबैलाई आफ्नो बारे बडो चिन्ता छ । तर कसैलाई सडकको जिवनको त्यो दयनिय नियति भोगिरहेको पात्रको बारेमा चिन्तनसमेत छैन । 

यस्तै दयानिय कारुणिक अवस्थाको चित्र दैनिक देखिन्छ इटहरीमा । सधैजसो इटहरीको सडकका पेटिमा कठ्याङ्ग्रीएर सुतिरहेको अवस्थामा सडक बालबालिकालाई भेटाइन्छ । कसैले फालेको कपडा र बोरोको साहारामा सुतिरहेको भेटिन्छन् उनिहरु ।

केहि दिन अघिको कुरा हो । म अफिसको लागी बिहानै निस्कीए । सोहि क्रममा इटहरीको सडकका पेटिमा कठ्याङ्ग्रीएर सुतिरहेको अवस्थामा केही सडक बालबालिकाहरुलाई देखेँ । कसैले फालेका पुराना सिरक ओढेर सुतिरहेका थिए उनिहरु । उनीहरुलाई जाडो भइरहेको म देखेरै अनुभुती गर्न सक्थेँ । 

नजिकै दुई जना सडक बालक उठिसकेका थिए । म उनीहरु नजिकै गएँ, कुरा गरेँ, तर उनीहरुले मेरो कुरामा खासै चासो देखाएनन् । बरु भने, ‘दिदी, चुरोट खान १० रुपैया दिनुन ।’

कहिले चुरोट त कहिले डेन्ड्राइट सुँघेर डुलिरहेका भेटिन्छन् इटहरीमा सडक बालकहरु । १० जनाभन्दा बढीको समुह निरन्तर घुमिरहेको छ । त्यो भीडमा आक्कल झुक्कल केही बालिकाहरुपनि देखिन्छन् । उनीहरुमा झन् ठूलो जोखिमको सम्भावना छ । तर पनि सरोकारवाला निकाय देखे पनि नदेखेझैं गरिरहेको छ ।

च्याउसरि स्थापना भएका संघ सस्थाले पनि उनिहरुको बारेमा केहि वास्ता गरेका छैनन् । 

सानो र अनावश्यक कुरा पनि भाइरल बन्ने सामाजिक सञ्जालमा पनि यो विषय भने ओझेलमा परेको छ ।

मुलुक संघीयतामा गएसगै राज्यको सम्पुर्ण शक्त्ती स्थानिय तहमा केन्द्रीत भएपनि स्थानिय निकायले यस्तो गम्भिर विषय प्रति कुनै चासो देखाएको छैन ।

यस्तो किसिमको समस्या नेपाल जस्तो गरिव तथा विकासउन्मुख देशमा देखिनु स्वाभाविकै ज्स्तो भएपनि यसको समाधानका लागी स्थानिय निकाय, नागरीक समाज र राज्यबिच समन्वय गरि समाधानका उपाय अपनाउन सकिन्छ ।

सडकमा आउने बालबालिकाहरु खासगरी विपन्न समुदायका हुन् । उनीहरुलाई सडकमा आउन नदिन र आइसकेकाहरुलाई पुनः घरमै फर्काउन र स्कुल पठाउन आवश्यक छ । त्योभन्दा पहिले त तत्कालै सडकलाई न्यानो चाहिएको छ । सडक बालबालिकालाई न्यानो चाहिएको छ । के सरोकारवालाहरु यो विषयमा अब चासो देखाउन सक्छन् ?