Newslaya Home

​नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्दै

मङ्गलबार १७, पुष २०७५

काठमाडौं । नेपालले आउँदो वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । उक्त भू–उपग्रहको नाम ‘बर्डस थ्री’ रहेको छ । 

उक्त भू–उपग्रहलाई जापानको क्युकेट विश्वविद्यालयमा स्नाकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई इन्जिनियरहरुको सहयोगमा प्रक्षेपण गर्न लागिएको हो । उक्त भू–उपग्रह जापानमा निर्माण भएपनि अमेरिकाबाट प्रक्षेपण हुने बताइएको छ ।

नेपाल सरकारले उक्त भू–उपग्रह निमार्ण तथा प्रक्षेपण गर्न र सहुलियत मूल्यमा तीन भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उनीहरुलाई करोडौँ रुपैया उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्राविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताएका छन् ।

नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य देशसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको उक्त प्रक्षेपणपछि अन्त्य हुनेछ । भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्बिर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्बिर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।