Newslaya Home

सहरमा किन चाहिन्छ सार्वजनिक पुस्तकालय ?

- ओम नाथ खतिवडा
मङ्गलबार ०३, पुष २०७५

कुनै पनि देश, प्रदेश र स्थानको विकास हुनको लागि सर्वप्रथम त्यस ठाउँका समुदायको शैक्षिक स्थितिले ठुलो भूमिका खेलेको हुन्छ । शिक्षा प्राप्त गर्नु भनेको सुचना प्राप्त गर्ने, प्राप्त सुचनालाई ज्ञानमा परिणत गरी व्यक्ति समाज र राष्ट्रको विकासमा उपयोग गर्ने हो । 

सुचना प्राप्त गर्ने साधनहरु विभिन्न माध्यम हुन्छन्, जस्तो किताब, पत्रपत्रिका शब्दकोश, विश्वज्ञानकोश, सरकारी दस्तावेज, सूची, वार्षीक किताब, सामान्य ज्ञान, नक्सा, डाटावेस, शोध ग्रन्थ, विवरण पुस्तीका, रिपोर्ट पोस्टर, मार्गदर्शन आदि उक्त कुराहरु आज इन्टरनेट अर्थात विद्युतीय र भौतिक रुपमा मुद्रित हुन्छन् । जुन कुराहरु पुस्तकालयमा मात्र संग्रहित व्यवस्थित र वितरित हुन्छ । आजको  ज्ञानमा आधारित समाजमा सुचनाहरु दैनिक लाखौं प्रसारित भइरहेका छन् । 

प्रसारित सुचनाहरुलाई कुन सुचना सही छ, कुन गलत छ छुट्याउन पनि मुस्किल छ । यी सबै कुराको लागि सुचना संकलन, व्यवस्थापन तथा वितरण हुनका लागि पुस्तकालयको आवश्यकता छ । समुदायको शैक्षिक स्थिति मजवुत पार्ने एक मात्र साधन पुस्तकालय हो । भौतिक शास्त्रका वैज्ञानिक आइन्टाइनले भनेका छन्, ‘तपाईले जान्नैपर्ने कुरा भनेको पुस्तकालय भएको ठाउँ मात्र हो ।’ त्यस्तै अर्का वैज्ञानिक टूलियस सिसेरोले भनेका छन्, ‘यदि तपाईसँग बगैंचा र पुस्तकालय छ भने तपाईले चाहेका सबै कुरा हुन्छन् ।’

व्यक्तिको सिर्जनशील सोच, जीवनपर्यन्त सोचाइ, जीवनपर्यन्त सिकाइ, स्वतन्त्र सिकाइ, पठन संस्कृति, आत्मनिर्भर शिक्षा र जीवनोपयोगी शिक्षा पुस्तकालयबाट मात्र सम्भव छ । 

पुस्तकालय एक बढ्दो संस्था हो । दैनिक रुपमा जति पनि सुचनाहरु प्रकाशित हुने गर्दछन् । तिनीहरुको आवश्यक्ता अनुसार पुस्तकालयमा सङ्कलित गरिने हुनाले र यो क्रम दैनिक, मासिक र वार्षिक रुपमा भइरहने हुनाले यसलाई बढ्दो संस्थाको रुपमा लिइन्छ । 

नेपालको सन्दर्भमा भन्ने हो भने नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा २७ मा सुचनाको हकको व्यवस्था गरेको पाइन्छ । जसमा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि सुचना माग्ने र पाउने सुविधा हुनेछ’ उल्लेख गरिएको छ । संविधानमा अल्लेख भएको उक्त कुरालाई हेर्ने हो भने पनि सुचनाको हक अन्तर्गत सुचना संकलन भएको पुस्तकालय हर क्षेत्रमा अत्यावश्यक देखिन्छ । 

पुस्तकालय बढ्दो संस्था भएतापनि २००७ सालपछि खोलिएका सार्वजनिक पुस्तकालयहरुको अवस्था खासै सन्तोषजनक रुपमा देखिएको छैन बरु कतिपय पुस्तकालयहरु स्पष्ट नीति, दृष्टिकोण र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेका देखिन्छन् । जबकी विश्वका विकसित मुलुकहरुका सार्वजनिक पुस्तकालयहरुको बजेट अन्य क्षेत्रमा भन्दा बढि नै पाइएको छ । उक्त बजेट पुस्तकालय उपकरबाट नै जम्मा भएको देखिन्छ । 

नेपालको मुख्य शहरी क्षेत्रहरुमा बसोबास गर्ने शहरवासीहरुका लागिसमेत सार्वजनिक पुस्तकालय शब्द अनौठो लाग्न सक्छ यसको सेवाको त कूरै नगरौं । औपचारिक शिक्षाको समाप्तिपछि प्रायः युवाहरुको फुर्सदको क्षण व्यतीत गर्ने ठाउँ नभएर बजारका विभिन्न गल्ली चोकमा भेला हुने तथा समाजका नकारात्मक कुराहरुमा समेत सहभागी भएको पाइन्छ । उनीहरुसँग पढाई र सोचाई संस्कृतिको विकास हुन सकेको देखिदैन । 

अर्कोतर्फ बुढापाका वृद्धवृद्धा तथा बालबालिकाका लागिसमेत फुर्सदको क्षण सदुपयोग गर्ने उपयुक्त ठाउँ मिल्न सकेको छैन । सहरवासीहरु प्रायः आफू र आफ्ना बालबच्चाहरुको फुर्सदको क्षण सदूपयोग गर्न विभिन्न मनोरञ्जनात्मक पार्क र अन्य ठाउँहरुको भ्रमणमा खर्च गरिरहेका देखिन्छन् । यसबाट समाजमा रहेका विभिन्न समुदाय, वर्ग, जातिका लागि उपयूक्त सुचना प्राप्त गर्ने सार्वजनिक पुस्तकालयको अभाव देखिन्छ । 

औपचारिक रुपमा शिक्षा प्रवाह गर्ने निकाय विद्यालय, महाविद्यालय र विश्वविद्यालयको पुस्तकालयको अवस्था हेर्ने हो भने कतिपय विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा संबन्धन प्राप्त गर्नको लागि भौतिक पुर्वाधारको रुपमा पुस्तकालयलाई पनि हेर्ने गरिन्छ तर त्यो पनि प्रायः कागजमा मात्र सिमित भई पर्याप्त पुस्तकालयको पुर्वाधार बिना नै स्वीकृत गरेको पाइन्छ । 

केही विश्वविद्यालय क्याम्पसहरुमा भने पुस्तकालयको पुर्वाधार राम्रो दृखिए तापनि यसको प्रयोग पक्ष कमजोर देखिन्छ । विद्यालय र महाविद्यालय तर्फ पनि पुस्तकालयलाई भौतिक पुर्वाधारको रुपमा राखिएको पाईदैन । प्रायः नेपालको खुल्ला शिक्ष नीति भए तापनि प्राईभेट संघ संस्थाबाट संचालित विद्यालय र महाविद्यालयहरुले अभिभावकको मन जित्न ठुल्ठुला सुविधा सम्पन्न भवन, गाडी र शैक्षिक भ्रमण जस्ता कुराहरुलाई नै अगाडी सारेको देखिन्छ । 

पुस्तकालयको नाममा प्रकाशकहरुद्वारा वितरित पुरक किताबहरु अफिस कोठाको दराजमा थन्क्याएर राखेको पाइन्छ । प्राइभेट संघ संस्थाबाट संचालित विद्यालय र महाविद्यालयहरुले वार्षिक स्वर्ण महोत्सव मनाईरहँदा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गुणस्तरीय, जिवनोपयोगी र व्यवसायिक शिक्षाको व्यापक बहस हुन्छ । तर विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने, खोज र अनुसन्धानमा सहयोग गर्ने तथा सोचाइको विकास गर्ने पुस्तकालयको अनिवार्यतामा कतैबाट पनि कुरा नउठ्नु भनेको पुस्तकालयप्रतिको सचेतना पर्याप्त नभएको प्रमाण हो । 

पर्याप्त श्रोत साधनसहितको पुस्तकालयले मात्र विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने, जीवनपर्यन्त शिक्षा प्रदान गर्ने, आत्मनिर्भर सिकाइ प्रदान गर्ने, समस्या समाधान गर्ने, स्वतन्त्र सिकाई प्रदान गर्ने, खोज र अनुसन्धानमा सहयोग गर्ने तथा सोचाईको विकास गर्ने हुन्छ । 

हाल विद्यालय, महाविद्यालयमा अध्यनरत लाखौं युवाहरु वार्षिक रुपमा एक सेट किताबको अध्ययन गर्ने र विद्यालय, महाविद्यालयले वार्षिक रुपमा लिएका लिखित परिक्षामा सामेल भई लिखित परिक्षाबाट प्राप्त अंकलाई मुल्याङ्कनको मुख्य आधार बनाईदै आएको देखिन्छ । उच्चतम अंक प्राप्त विद्यार्थीलाई सर्वोत्कृष्टको पगरी गूथ्ने गरिन्छ । उच्चतम अंक हासिल विद्यार्थीको समस्या समाधान क्षमता, अनुसन्धान पद्धति, सोचाइ विकास आदिको ख्याल गरिदैन । उत्पादित जनशक्ति उपयुक्त क्षमता र विकासको अभावका कारण विदेशी भुमिमा जान बाध्य देखिन्छ ।

यसबाट निष्कर्षमा के भन्न सकिन्छ भने लाखैं युवाहरु उपयुक्त शिक्षा नीति र दुरदर्शी दृष्टिकोण नभएका कारण आफ्नो उर्जाशील, सिर्जनशिल क्षमता, जीवन पर्यन्त र आत्म निर्भर सिकाइ, समस्या समाधान, स्वतन्त्र सिकाइ, खोज अनुसन्धान र आविष्कार, सोचाइको विकास तथा जीवन मुलक शिक्षाको पहुँचबाट टाढा हुनुपरेको देखिन्छ । 

हालै शिक्षा आयोगको पहिलो चरणको प्रतिवेदनमा पनि शिक्षाको परीक्षामुखी र घोकन्ते प्रकृतिको शिक्षाको अन्त्य हुनुपर्ने भन्ने उल्लेख भएबाट सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।