Newslaya Home

निर्मला तिमी किन आइरहन्छौ ?

- दीपा कुँवर
बिहीबार २७, मङि्सर २०७५

तिमीलाई थाहा छैन...?

यो सीता जन्मिएको देश हो..।

के तिमीलाई थाहा छैन 

यो भृकटी जन्मिएको देश हो ।

यहाँ बीरङ्गनाको नाम जपिन्छ 

तिमीजस्तो 

आफ्नै नेपाली दाजुभाईको

यौनप्यास बुझाउन 

ज्यानै फाल्नुपर्ने 

मासुम बच्चीको हैन ।

अब के आशा गर्दछौ ?

आफ्नै ठाउँमा लुटिईसकेपछि पनि 

के न्याय माग्दछौ ?

कोपिलामै झरिसकेपछि ...।

 

यो नवदुर्गाको नौ दिनसम्म पुजा गर्ने देश हो ।

चेलीलाई न्याय दिने होइन ... ।

किन मेरो सुन्दर, शान्त नेपाललाई

विश्व सामु लज्जित बनाउँदैछौ ? 

यो त गौतम बुद्ध जन्मिएको देश हो

कैयन पर्यटक घम्ने देश हो ।

आजकाल सुन्छु 

बलात्कारीको देश भनिन्छ रे विदेशमा 

हेर त ...

मेरा सारा जिजुबाजेहरुले 

रचेको इतिहासमा 

तिमीले बेइज्जतको कत्रो धब्बा लगाइदियौ ।

 

एकपटक हेर सत्तामा हुनेहरु 

तिमै्र कारणले पोलपोलमा चढ्न बाध्य छन् ,

सारा सैनिक प्रशासन लागि पर्नु परेको छ 

तिम्रा न्याय नभेटिएको 

गुनासो पोखिएको पोष्टर च्यात्न,

फर्जी बलात्कारीको बयान बनाउन । 

 

तिमीले आवाज त्यसरी नै दबाउनु पर्ने थियो

जसरी

तिम्रा आफ्नै नेपाली दाजुभाईले 

तिमीलाई ब्वाँसोले झै लुछिरहँदा ....

तिमीलाई असह्य भएर रुँदा, चिच्याउँदा....

तिम्रो मुखमा कपडा कोची कोची घाटी थिच्दा.... 

तिम्रो आवाज मात्रै होइन

तिम्रो क्रन्दनलाई सहन नसकी, 

तिम्रो पीडालाई  हेरिरहन नसकी, 

तिम्रो आफ्नै प्राण पनि विस्तारै विस्तारै

हावामा विलिन हुँदै गएको थियो ।

हो त्यसरी नै 

जसरी ती यौनपिपासु 

तिम्रो फक्रिई पनि नसकेको 

कलिलो शरिरलाई 

कुनै परिकार जस्तो मानी 

घुटुकघुटुक थुक निल्दै कोपरिरहँदा

असहाय बने झैँ बनिदिनु पथ्र्याे ।

 

के तिमी अनभिज्ञ छौ र ?

यो आमाको नाउँबाट नागरिकता बाँडे

देशद्रोही जन्मिन्छन् भनी

तर्क गर्ने बद्धिमानहरुको देश हो । 

यो खुलेआम बलात्कारी डुल्ने देश हो । 

 

त्यसैले त निर्मला.....

तिमी किन आइरहन्छौ ? 

तिमीजस्ता आधा यहाँ 

ज्युँदो लास सरह बाँच्नुपर्ने 

डरैले आत्महत्या गर्छन्,

आधा ज्युँदो लाश भएर बाँच्छन्, 

अनि आधा चाहीँ हिंस्रक मनुषबाट 

बच्न समेत पाउँदैनन्

 

तर चुप छन् तिम्रो देशको न्यायलय

ताकि तिम्रो इज्जत लुटिएपनि

देशको इज्जत बँचिरहोस् । 

के तिमीले सुनेकी छैनौ र ?

तिमी आफ्नै देशमा न्यायको भीख मागिरहदाँ

अन्य देशहरुमा नेपालको बारेमा 

गलत सन्देश जाने बौद्धिक अभिव्यक्तिहरु ?

त्यसैले त निर्मला.....

लागि परिरहेका छन् तिम्रा आवाजहरु दबाउन ।

त्यसैले

निर्मला तिमी किन आइरहन्छौ ?  

यो त तिमीजस्ताका पीडाहरुलाई दबाएर , 

संवृद्ध देश निर्माण गर्ने सपना बाँड्नेहरुको देश हो ।