Newslaya Home

​एचआईभी संक्रमित बालबालिकालाई सहयोग गर्नस्याडो च्यारिटि नाईट

शुक्रबार २१, मङि्सर २०७५

धरान । एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाका लागि धरान पोजेटिभ ग्रुपको अक्षयकोषमा सहयोग गर्न एमएच बिबिक्यु हाउसले च्यारिटि नाईट गर्ने भएको छ । 

धरानको बगरकोट स्थित एमएच हाउसमा पुस ६ गते डिजे मलिक स्याडो च्यारिटि नाईट –२०१८ हुने भएको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । एमएच हाउसको आयोजना तथा धरान पोजेटिभ ग्रुपको सहकार्यमा च्यारिटि नाईट हुन लागेको हो । 

धरान पोजेटिभ समुहले सहयोग गर्दै आएको ३३ जना एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि न्युनतम २५ हजार रुपैया अक्षयकोषका लागि सहयोग गरिने एमएच हाउसका संचालन जीवन मेन्याङबोले बताए । 

उनले कार्यक्रम निःशुल्क भएपनि अढाई सय मुल्यको एक सय वटा टिकट बनाएर स्वेच्छिकरुपमा सहयोग गर्न आग्रह गर्ने बताए । कार्यक्रममा प्रवेश शुल्क निःशुल्क रहेको छ । कार्यक्रममा डिजे मलिक स्याडोसहित धरानका नयाँ कलाकारहरु जोन जोन, सिंह बहादुर मादेन, शुभलक्ष्मी राई र समिता लिम्बुको अनप्लग लाईभ म्युजिक प्रस्तुती रहने छ ।

कार्यक्रम समापन भएको एक हप्ताभित्र सहयोग रकम संचारकर्मी र विशिष्ट व्यक्तित्वहरुको माझ सम्बन्धित संस्थालाई हस्तान्तरण गरिने छ भने सोही दिन संक्रमित तथा प्रभावित बालबालिकाहरुलाई खाजासमेत खुवाईने प्रचारप्रसार संयोजक विकास चाम्लिङ राईले बताए ।

धरान रनको सहयोगमा २ लाख १० हजार रुपैयाँबाट सुरुवात भएको अक्षयकोषमा हाल ४ लाख ८५ हजार ५ सय ५ रुपैयाँ रहेको पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्काले बताए ।