Newslaya Home

​इटहरीको मनि ट्रान्सफर लुट्ने राजन नामुद डाका, यस्तो छ अपराधको सुची

शुक्रबार २१, मङि्सर २०७५

काठमाडौ । केही दिनअघि इटहरीमा मनि ट्रान्सफर लुट्ने काममा संलग्न भनिएका राजन लिम्बु नामुद डाका रहेको खुलेको छ । डकैतीका विभिन्न ६ वटा घटनामा उनको संलग्नता खुलेको हो । शुक्रबार काठमाडौंको रातोपुलमा गोली चलाएर ती युवकलाई नियन्त्रणमा लिन प्रहरीले कोसिस गरेको थियो ।

सो क्रममा प्रहरीले चलाएको गोली लागि लिम्बु घाइते भएका थिए । प्रहरीले नियन्त्रणमा लिने कोसिस गर्नासाथ लिम्बुले प्रहरीमाथि फायर गरेका थिए । प्रहरीले उनको साथबाट चिनियाँ पेस्तोल र ४ राउन्ड गोली बरामद गरेको छ । 

लिम्बूको समूहले १२ मंसीरमा सुनसरी इटहरीका मनी ट्रान्सफर सञ्चालक सविन दाहाललाई छुरा प्रहार गरी तीन लाख रुपैया लुटेको थियो । यस्तै, २० भदौ २०६३ मा उनीसहितका ४ जनाले काठमाडौंमा रोवल को अपरेटिभ लिमिटेडको कार्यालयबाट पेस्तोल देखाउँदै ११ लाख ३० हजार रुपैया लुटेको जाहेरी पनि परेको छ ।

२१ असोज २०६३ मा काठमाडौंको एक गेस्टहाउसको काउन्टरबाट पेस्तोल देखाउँदै तीन लाख ६१ हजार रुपैया बराबरको धनमाल लुटेको जाहेरी पनि परेको प्रहरीले जनाएको छ । ३० साउन २०६३ मा काठमाडौंकै अर्को गेस्टहाउबाट हतियार देखाएर ८६ हजार ५ सय रुपैया लुटेको खुलेको छ ।

१५ फागुन २०७३ मा झापाको काँकडभिट्टास्थित जीवन विकास लघुवित्तका कर्मचारीलाई पेस्तोल देखाई घर्रामा रहेको १० हजार र कारोबार गर्न आएका वीरबहादुर प्रधानको साथमा रहेको ९० हजार गरी १ लाख रुपैया लुटेको जाहेरी पनि रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, २ कात्तिक २०६२ मा काठमाडौंमा सन्तोष लिम्बूलाई नियन्त्रणमा लिई नगद र जिन्सी लुटेर लगेको जाहेरी पनि परेको छ ।

उनी एक हत्याको घटनामा पनि संलग्न रहेको खुलेको छ ।
 

इटहरीको मनि ट्रान्सफर लुट्नेलाई प्रहरीले गोली हान्यो