Newslaya Home

पत्रकार महासंघ सुनसरीले सप्ताहव्यापी कार्यक्रम गर्ने

बिहीबार २०, मङि्सर २०७५

इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । 
 

पत्रकार र पत्रकारितासम्बन्धी विविध रचनात्मक कार्यक्रम र गतिविधिसहित सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । विहीबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको बैठकले आगामी पुस १५ देखि १९ गतेसम्म कार्यक्रम गर्ने भएको हो । 
 

सोअनुसार पुस १५ गते महासंघको धरानस्थित कार्यालयको दोस्रो तला भवन उद्घाटन, १६ गते इनरुवामा पत्रकारिता विषयमा अन्तरक्र्रिया, १७ गते इटहरीमा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुतीसँगै फोटो प्रदर्शनी गर्ने भएको छ ।
 

महासंघले जिल्लाको इतिहास लेखन कामलाई समेत अघि बढाउने भएकाले गर्दा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुती कार्यक्रम राखिएको हो । सोही दिन पत्रकारका स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य शिविरसमेत गरिने भएको छ । 
 

१८ गते धरानमा पत्रकारकै लागि खेलकुद कार्यक्रम र १९ गते धरानमै साधारणसभा गरिनेछ । साधारणसभामा सागठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि स्थापना गर्न लागिएको हित कोषको कार्यविधि पारित र भावि कार्यक्रम पारित गरिनेछ ।