Newslaya Home

क्षेत्रीय प्रहरी तालिम केन्द्र गोठगाउ सारिने

बिहीबार २०, मङि्सर २०७५

विराटनगर । विराटनगरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रलाई स्थानान्तरण गरिने भएको छ । 

विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

यसको लागि जग्गा हेर्ने काम पूरा भइसकेको र यसलाई प्रहरीको स्वामित्वमा ल्याउने काम शुरु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी केदार रिजालले बताए ।

जग्गा स्वामित्वमा आउनासाथ भौतिक संरचना निर्माणको काम पनि शुरु हुने रिजालले बताए । बस्ति बढदै जाँदा तलिम केन्द्रमा तालिम गर्न समस्या हुने भएकोले यसलाई स्थानान्तरण गर्न लागिएको प्रहरीको भनाई रहेको छ ।

नजिकै वस्ती हुँदा गोली उछिट्टिएर बाहिर जाने हो कि भन्ने चिन्ताले गर्दा पनि सुरक्षित स्थानमा तालिम केन्द्रको आवश्यक्ता परेको र त्यसको लागि सुन्दर हरैचा नगरपालिकाको गोठगाउँमा जग्गा भएको डीआईजी रिजालले बताए । 


हाल तालिम केन्द्र भएको ठाउँ रानीमा १ नम्बर प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र प्रदेश सशस्त्र प्रहरी गण गरी नेपाल प्रहरीका सुरक्षा निकायका ३ कार्यालय एकै स्थानमा रहेका छन् ।