Newslaya Home

इटहरीमा प्रतिनाद साङ्गितिक यात्रा

बिहीबार २०, मङि्सर २०७५

​इटहरी । इटहरीका कवि, कलाकार, सङ्गीतकर्मी आज साँझ फरक साङ्गीतिक साहित्यिक वातावरणमा रमाएका छन् । 

पद्म दीपस्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतिनाद साङ्गीतिक यात्रा २०७५ कार्यक्रम प्रस्तुतिका क्रममा गरिएका गीत–सङ्गीतमा उनीहरू रमाएका हुन् । कार्यक्रममा चर्चित रेडियोकर्मी अच्युत घिमिरे बुलबुलको संयोजनमा फरक शब्दहरू लेख्ने सर्जक डाक्टर डि आर उपाध्यायका शब्दहरूलाई गाएर प्रस्तुत गरिएको थियो ।

डि आर उपाध्यायका शब्दहरूलाई चर्चित गजल गायिका निशा देशार, गायक सागर अधिकारी, सङ्गीतकार सन्तोष श्रेष्ठले स्वर दिएका थिए । 

त्यसैगरी सो साङ्गीतिक वारतावरणको सदुपयोग गर्दै जिटिभिको रियालिटि सो लिटिल च्याम्पसको दिल्ली अडिसनबाट मुम्बैमा हुने मेघा राउन्डका लागि छानिएका ११ वर्षीय प्रीतम आचार्यले पनि गायन प्रस्तुत गरेका थिए । 

आचार्यको गायन कला देखेर खुसी हुँदै चर्चित कवि मनु मञ्जीलले मैले कविता लेखेर प्राप्त गरेरको अहिलेको उचाइ प्रीतम भाइको प्रतिभाका सामु सानो भएको भन्दै धाप मारेका थिए । 

कार्यक्रमको सुरुमा बोल्दै कवि मनु मञ्जीलले इटहरी सम्झेर काठमाडौँबाट आएको टोलीलाई सफलताको शुभकामना दिएका थिए । उनले यो भेटघाटको अवसरले इटहरी र काठमाडौँको साहित्यिक–साङ्गीतिक दूरीलाई छोट्याएको बताए ।

त्यसअघि, गीतकार डाक्टर डिआर उपाध्यायका गीतहरू समावेश सात वटा एलबम कवि मनु मञ्जील, एरिना टेलिभिजनका सम्पादक सुविद गुरागाई तथा सप्तकोसी एफएमका समाचार सम्पादक लीलाराज भट्टराईले संयुक्त रूपमा स्थानीय लोकार्पण गरेका थिए ।

केही दिनअघि काठमाडौँमा राष्ट्रकवि माधव घिमिरेद्वारा लोकार्पण गरिएको डाक्टर डिआर उपाध्यायका गीत रचना समावेश सात वटा किताब र सात वटा एलबम कोसेली बोकेर प्रतिनाद साङ्गीतिक यात्रा हिजोदेखि पूर्वको दौडाहामा छ ।