Newslaya Home

​‘कोही अपहरणमा पनि पर्न सक्छ’ इटहरीका मेयरले किन भने ?

बिहीबार २०, मङि्सर २०७५

इटहरी । इटहरीमा बिहीबारबाट निर्माण थालिएको पार्कको शिलान्यास लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कुरा थियो । तर विहान गरिएको कार्यक्रममा राई उपस्थित भएनन् ।

शुक्रबार गर्ने भनिएको कार्यक्रम राईकै समय अनुकुल पारेर विहीबारलाई सारिएको थियो । तर राई नआएपछि १०१ वर्षिय भानुभक्त लम्साललाई प्रमुख अतिथि बनाएर शिलान्यास गराइएको थियो । राई मन्त्रालयकै कामले गर्दा व्यस्त भएर नआएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
तर उनी निकटका नेताहरुका अनुसार भने राईलाई दोहोरो दबाब थियो । राती अबेरसम्म पनि कार्यक्रममा सहभागि हुन र नहुन भन्दै एमाले नेताहरुकै विभिन्न समुह र व्यक्तिले फोन गरेर दबाब दिएका थिए ।

हुन त उक्त कार्यक्रममा मुख्यमन्त्री राई सहभागि नहुन सक्ने आशंका आयोजक इटहरी उपमहानगरपालिकालाई पनि थियो । किनकी क्रिकेट मैदानलाई पार्क बनाउन लागिएको विषयमा केही खेलप्रेमीहरुले विरोध जनाएका थिए । त्यसका साथै उता सार्वजनिक जग्गाको रुपमा रहेको मैदानलाई ओगटेर उपयोग गर्दै आएको डीभीएम स्कुललेसमेत कार्यक्रम असफल बनाउन प्रयास गरिरहेको स्वयं मेयर द्वारिकलाल चौधरीलेसमेत बताउँदै आएका थिए । 

आफूलाई प्रभावमा पार्न खोजिएको र अरुलाई पनि प्रभावमा पारेर सो जग्गा नगरपालिकाको हुन नदिने षड्यन्त्र भइरहेको उनले बताउँदै आएका थिए । उनले मानिसको जिउ ज्यानसम्मको खतरा रहेको बताएका थिए ।

‘५० करोडको सम्पत्ती सहजै कसैले छाड्दैन,’ उनले बुधबार पत्रकारसँगको भेटघाटमा भनेका थिए, ‘त्यसो हुँदा यसको डिजाइन स्टिमेट गर्दा जनता पार्क शिलान्यास गर्दासम्म कोही अपहरण पनि हुन सक्छ, कोही सुट पनि हुन सक्छ ।’

उनले जसरीपनि पार्क बनाएरै छाड्ने समेत बताएका थिए । उनले भने, ‘कोहि अपहरण, कोहि सुट भयो भने उसको परिवारलाई क्षतिपुर्ती दिने, शहिद घोषणा गरिदिने र तिनको शालिकसमेत स्थापना गरिदिएर शहिद पार्क बनाउने ।’

तर उद्घाटन कार्यक्रम उनले भनेजस्तो केही भएन । अर्को स्टेडियम नबनाएसम्म क्रिकेट मैदान नबिगार्ने प्रतिबद्धता मेयर चौधरीले सार्वजनिक गरेपछि खेलप्रेमीहरुले प्रतिबद्धतालाई व्यवहारमा उतारेको हेर्न चाहेको प्रतिक्रिया दिएका थिए ।

यता डीभीएम सञ्चालकहरु भने छेउमै बसेर कार्यक्रम हेरिरहेका थिए । डीभीएम निजी विद्यालय हो । यो इटहरीमै महँगो शुल्क लिने विद्यालयसमेत हो । यो विद्यालयका सञ्चालकहरुमा इटहरीकै हाइप्रोफाइल व्यापारी, शिक्षासेवी, राजनीतिज्ञ आदिको समुह छ ।
 

​‘खेल मैदान मास्ने होइन, विकल्प नबनेसम्म खेल मैदानसहितको पार्क बन्न लागेको हो’