Newslaya Home

​आज बालाचतुर्दशी, किन छर्ने शतबीज ?

बिहीबार २०, मङि्सर २०७५

इटहरी । मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । 

यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । 

शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । भगवान् शिवले मृगको रूप धारण गरेर घुमेको क्षेत्रमा बालाचतुर्दशीको दिन एक गेडा बीऊ छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास छ ।

शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । 

यस्तै आज पूर्वका विभिन्न धार्मीक स्थलहरुमा पनि शतबीज छरेर बालाचतुर्दशी मनाइएको छ ।