Newslaya Home

​फिनल्याण्डमा इलामकी खनालले गरिन् कविता वाचन

बिहीबार २०, मङि्सर २०७५

कुपिओ (फिनल्याण्ड) । वर्तमान समयकी उदयमान गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत तथा कविता सुनाएकी छन् । 

उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाव र म, नारी, हे विष आफूले आफैँलाई पिएर हेरलगायत दर्जन गीत र कविता बाचन गरेकी थिइन् । उक्त गीत तथा कविताहरुमा मानवीय समवेदना प्रेम र जीवनका बारेमा उल्लेख गरेको पाइन्छ । 

इलाम गीतकार खनालका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताब निस्कन लागेको उनले बताईन् । खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । 

उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपाललाई बुझ्न निकै सहयोग गरेको बताएका थिए । 

कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । उनका कविता सुन्न नेपाली र फिनिस नागरिक भेला भएका थिए ।