Newslaya Home

​बायोप्सीको विकल्पमा वीपीमा फेब्रोस्क्यान मेशिन संचालन

बुधबार १९, मङि्सर २०७५

धरान । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फेब्रोस्क्यान मेशिन जडान गरेको छ । कलेजोमा देखिने रोगहरुको परिक्षणका लागि गरिने बायोप्सी भन्दा सरल र सहज परिक्षणका लागि उक्त मेसिन जडान गरिएको हो ।

जेनेभा युनिभर्सिटीको सहयोगमा आएको मेशिनले कलेजो सम्बन्धीका बिरामीका लागि सहज र सरल रुपमा परिक्षण गर्न सकिने भएको छ । कलेजो कडा हुँदै गए पछिको अवस्था फाईब्रोसिस लाई परिक्षण गर्न बायोप्सीनै गर्नु पर्ने हुन्छ, जसका लागि पाईपले घोचेर लिभरको सानो टिस्युको परिक्षण आवश्यक पर्छ । 

प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरि फेब्रोस्क्यान मेशिनबाट फाईब्रोसिस पत्ता लगाउन सकिने ग्यास्ट्रो एन्टेरो हेपाटोलोजि विभागका डा. विक्रम प्रधानले बताए । 

उनका अनुसार फेब्रोस्क्यान मेशिनबाट अल्ट्रासाउण्ड गर्दा पनि थाहा नपाईने परिक्षण गर्न सहज हुने छ । उनले भने, लिभरमा कति बोसो जमेको हुन्छ, लिभरमा सिरोसीस छ कि छैन त्यो थाहा पाउँनका लागि यो मेशिनबाट सहज हुन्छ, अल्ट्रासाउण्डबाट थाहा पाउन नसक्ने फाईब्रोसिसको बायोप्सी नै गर्नु पथ्र्यो, त्यसको विकल्पमा फेब्रोस्क्यान मेशिन हो । 

घोचेर लिभरको सानो टिस्यु निकालेर माईक्रोस्कोपबाट हेर्नु पर्ने पद्धतिलाई सहज बनाउन प्रतिष्ठानमा मेशिन ल्याएको उनले बताए । हेपाटाईटिस सि, बीको उपचार गर्दा पनि लिभरको अवश्था पत्ता लगाउन सहज हुने उनको भनाई छ । 

जेनेभा युनिभर्सिटी अस्पतालका प्रोफेशर लञ्च पाको पहलमा मेशिन प्राप्त भएको हो । पा अघिल्लो वर्ष प्रतिष्ठानमा आउँदा प्रस्ताव राखे पछि प्रतिष्ठानमा आधुनिक पद्धतीको मेशिन ल्याउन सफल भएको उनले बताए । अनुदानमा प्राप्त भएको मेशिनबाट देशकै सस्तो मुल्यमा बिरामीहरुलाई सेवा उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ ।