Newslaya Home

​‘खेल मैदान मास्ने होइन, विकल्प नबनेसम्म खेल मैदानसहितको पार्क बन्न लागेको हो’

- द्वारिकलाल चौधरी (मेयर, इटहरी)
बुधबार १९, मङि्सर २०७५

हामीले गत वर्षदेखि नै सार्वजनिक जग्गाहरुको खोजि गर्ने कार्यमा छौँ । यसका लागि हामीले कार्यपालिकाको बैठकबाट सार्वजनिक जग्गा खोजी गर्ने, छानबिन गर्ने समिति नै गठन गरेका छौँ । त्यसले अध्ययन गरिरहेकै छ । 

अहिले हामी जनता पार्क बनाउन लागेका छौं । म आफैले पनि सक्रियता लिएर लामो समय अध्ययन गर्यौं । गत वर्ष हामीले सार्वजनिक जग्गा संरक्षणको लागि बजेटको व्यवस्था गर्न सकेनौँ । यसमा हाम्रो कमजोरी रह्यो ।

यो वर्ष हामीले सार्वजनिक जग्गा भेटेमा त्यसको तार, घेरा बेरा गरेर संरक्षण गर्ने कार्यको थालनी गरेका छौं । सोही क्रममा रेशम खेती तथा जुट खेती छेउमा अहिले क्रिकेटको लागि प्रयोग गरिरहेको र मैदानकै रुपमा प्रयोग गरिरहेको डि.भि.एम. घेराबेराको लागि सुचना निकालिसकेका छौं । त्यो नौ लाखको टेण्डर हो । त्यसमा ३ प्रतिशत मिलोमा लागेको छ भन्ने मलाई योजना शाखाले जानकारी गराएको छ । 

उक्त जग्गामा पार्क बनाउने हाम्रो योजना रहेको छ । तर क्रिकेट मैदान नै मासेर पार्क बनाउन लागियो भन्ने आरोप सहि होइन, बरु त्यसकै वरिपरी ग्रीनरी गर्ने हो । फुटपाथ बनाउने हो । किनभने इटहरी अब डेभ्लभमेन्ट सिटी हो । त्यसकारण जिवनशैली फरक भइसक्यो मान्छेको । दिनभरिको आफ्नो बन्द व्यापार गर्छ, जागिर जान्छ, तर साँझ बिहान फुर्सद हुँदा खुला ठाउँ पनि चाहिन्छ हावा खाने । अहिले त्यसको अभाव छ ।

यहाँ बाल बच्चादेखि लिएर जवान वृद्ध सबै रमाउन सक्छन् । त्यहाँ मर्निङ वाक गर्ने, जगिङ गर्ने, ध्यान गर्ने, योग गर्ने, साधना गर्ने यो सबै अवसर प्राप्त हुनेछ । त्यसैले यसलाई गम्भिरताका साथ हामीले यो चालु आर्थिक वर्षमा बजेटको व्यवस्था गरेर यो काम हामी अगाडी बढाइरहेका छौं ।  

र जहाँसम्म अहिले खेलाडीहरु र खेलप्रेमीहरुले पार्क बनाउने कुराको विरोध गरेको प्रसंग छ, यहाँ बुझाइको समस्या भएको छ । कस–कसले के–के खालको सुचना सम्प्रेषण गरिदियो, त्यहाँ त पुरै जंगलै लगाइन्छ भन्ने खालको बुझाइ भएछ । हामीले पार्क बनाउने कुरा गर्दैछौं । त्यहाँ वृक्षरोपण गर्न लाग्यो, जंगल बनाउन लाग्यो भनेर भनिरहेका छन् । उहाँहरुले भनेको ५५ मिटर र ६० मिटर जुन सेन्टर प्वाइन्ट छ, जसलाई पिच भनिन्छ त्यहाँ त हामी अहिले केहि पनि चलाउँदैनौ । त्यसकारण क्रिकेट खेल्नको लागि एकरति पनि कुनै प्रभाव पर्दैन । 

हामीले छेउ छेउमा ग्रीनरी गर्ने हो, सिटी लाइट हाल्ने हो । अनि हिँड्नको लागि चाहि हामीले एस्टोल पेभमेन्ट गर्ने हो । बिचको मैदानलाई अहिले चलाउँदैनौं । चलाउने समयसम्ममा हामीले अन्यत्रै खेल मैदानको व्यवस्था गरिसकेका हुन्छौं । उक्त जग्गामा डिभिएमले भवनहरु बनाएको छ । भवनको पछाडि त्यहि जग्गा छ । त्यो जग्गामा चाहिँ घण्टाघर बनाउन उपयुक्त होला भनेर प्राविधिकहरुले सुझाएका छन् ।

हामीले अहिले घण्टाघरसहितको डिजाइन गर्नुस् भनेका छौँ, त्यो डिजाइनकै क्रममा छ । जनता पार्कको लागि ५० लाख रुपैया विनियोजन भएको छ । त्यो कम पनि हुन सक्छ अथवा त्यो पर्याप्त पनि हुन सक्छ । त्यो भएको हुँदा अहिले केही सञ्चार माध्यम, केही व्यक्तिहरु, यसलाई अतिरञ्जित ढंगले जनता पार्क शिलान्यास हुनुभन्दा अगाडी नै वादविवाद भनेर भनेको छ । कहिँ कतै वादविवाद छैन । 

त्यो जग्गाको मूल्य भनेको अहिले ५० करोडभन्दा माथि हुन्छ । त्यसकारण अहिले त्यहाँ त्यो विद्यालयको शेयर होल्डर कस्ता कस्ता छन् । भनेर कम्पोजिसन मिलाएको छ । राजनीतिक कम्पोजिसन मिलाएको छ, सामाजिक कम्पोजिसन मिलाएको छ, इकोनोमिक कम्पोजिसन मिलाएको छ । त्यसकारण निकै प्रभावकारी मान्छेहरुले डिभिएम स्कुल चलाइरहेको हुँदा विवाद उहाँहरुको प्रयासबाट भइरहेको छ । 

यो काम गर्न नदिनका लागि राज्यका उच्च पदस्थ कर्मचारीहरुदेखि लिएर नेतृत्वलाई समेत प्रभावित गर्ने काम गरिरहेको छ । हामीलाई समेत प्रभावमा पार्ने काम भयो । त्यसैले हाम्रा अफिसरहरु योजना शाखाका ओभरसियर इन्जिनियरहरुलाई पनि मैले यसरी ट्रिट गरेको छु कि यो चानचुने विषय होइन । यो ५० करोडको सम्पत्ति कसैले हड्पेको छ यो सहज ढंगले उनीहरुले आफ्नो हक के छ भने छोड्न मान्दैनन् । 

त्यसैले पार्क बनाउन जुन अवरोध गर्न खोजिरहेको छ यो सबै अवरोधलाई फेस गर्न इटहरी नगरपालिका तयार छ । हामीले सुरक्षाकर्मीलाई शान्ति सुरक्षाको लागि अनुरोध गरिसकेको छौं । हामीले प्रदेश १ का मुख्यमन्त्री माननिय शेरधन राईलाई आमन्त्रण गरेका छौं । २० गते शिलान्यास हुन्छ । यसमा अरु कुनै विवाद छैन । 

यो टेंग्रा उकासको जग्गा हो । उच्च स्तरीय बन सुदृढिकरण आयोगले कित्ताकाट गरेको थियो कसैको नाममा दर्ताको लागि तर कुनै पनि व्यक्तिको नाममा चाहि फिल्डबुक तयार नभएको हुनाले अब यो सार्वजनिक जग्गा कसैको नाममा दर्ता हुँदैन । 

बेदर्तावाल जग्गा जनताको हितमा अथवा सार्वजनिक हितमा नगरपालिकाले प्रयोग गर्न सक्छ र संरक्षण गर्न सक्छ । त्यसकारण नगरपालिका कुनै ऐन प्रचलित कानुनभन्दा बाहिर गएर गरेको छैन । 

हामीले अर्को ठाउँमा क्रिकेट खेल मैदान नबनाए सम्मको लागि त्यहाँ खेल सञ्चालनको लागि कुनै बाधा पुग्ने छैन् । कतिपयले इटहरी नगरपालिका खेल मैत्री होइन, खेल विरोधी भयो भन्ने सन्देश दिन खोजेका छन् । 

तर इटहरी उपमहानगरपालिका खेल मैत्री छ । खेल विरोधी छैन ।