Newslaya Home

कनकाईमा व्यवस्थित घाट निर्माण हुँदै

बुधबार १९, मङि्सर २०७५

दमक । शिवसताक्षी नगरपालिका १० स्थित कनकाई पुल दक्षिणमा ६ करोडको योजनामा व्यवस्थित घाट निर्माण सुरु गरिएको छ । 

कनकाई मुक्ति घाट व्यवस्थापन समितिले घाट निर्माण कार्यलाई तीव्रता दिएको हो । समितिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएरै घाट निर्माणको कार्यलाई अघि बढाएको छ । घाट निर्माणका लागि समितिले नदी किनारमा १० कठ्ठा जमिन खरिद गरेको छ ।

उक्त जमिनमा पाँचवटा लास जलाउने वेधी (घाट) निर्माण गर्ने डीपीआरमा उल्लेख छ । जसमध्ये तीन वटा वेधी निर्माण भइसकेको छ । ७ वटा मलामी विश्राम स्थाल निर्माण गरिनेमा चार वटा विश्राम स्थल निर्माण सम्पन्न गरिसकेको समितिका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

घाटमा एक हजार मलामी क्षमताको खाजा घर निर्माण गरिनेछ । त्यसको माथिल्लो तलामा सभाहल र कार्यालय रहेने बस्नेतले बताए । एटेज ट्याइलेट–बाथरुम र एसी जडित पाँच वटा क्रियापुत्री बस्ने घर निर्माण गरिनेछ । घाट सफाइ गर्ने र पिउनका लागि छुट्टाछुट्टै खानेपानीको व्यवस्था गरिएको छ ।

तीनतिर घेराबारासहितको घाट निर्माण गरिने बस्नेतले बताए । उनका अनुसार घेराबाराभित्र शिवालय मन्दिर, फाउन्टेनसहितको पोखरी, लकिङ टायल बिछ्याएर बाटो निर्माण गरिनेछ । घाटमा ब्रह्मनल (अन्तिम पिण्ड दान गर्ने पोखरी) निर्माण गर्ने डीपीआरमा उल्लेख छ ।

घाट घुम्न आउनेहरूका लागि वरिपरि ७ वटा घोल घर निर्माण गरिने समितिका उपाध्यक्ष मोहनप्रसाद सुवेदीले बताए । त्यसभित्र ध्यान केन्द्र र गार्डेन समेत हुने सुवेदीले बताए । घाटको उत्तर दिशामा घाटमा आवश्यक सामग्री बिक्री गर्ने चार वटा पसल समेत हुनेछन् ।

प्रारम्भिक चरणको घाट निर्माणमा एक करोड रुपैयाँ खर्च भइसकेको अध्यक्ष बस्नेतले बताए । घाट निर्माणका लागि चालु वर्ष प्रदेश १ सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ । शिवसताक्षी नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।